१८ किलो सुन प्रकरण : भाइले भारतबाट ल्याएको सुन ‘प्रहरी’ दाइले खाल्डोमा लुकाए !



कैलाली : कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा एक प्रहरी र उनका भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीमै कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेका छन् ।

निर्मला पन्त हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो ।

सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ । दुई महिनाअघि नै सुन कैलाली पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ ।  

लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएको स्रोतको भनाइ छ । ‘भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए,’ स्रोत भन्छ, ‘तर, तस्करीको सुन भएकाले कहिँकतै प्रहरीमा उजुरी गरेनन् । सुन कैलाली पुर्‍याएपछि लक्ष्मण फरार थिए ।’

लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनि लुकाएर राखेका थिए । सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो ।

सुन १८ किलोग्राम मात्रै हो वा अरू पनि थियो भन्नेबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । ‘प्रहरीले ठूलो सफलता पारेको छ, काठमाडौं बाहिर यति ठूलो परिमाणमा सुन कमै समातिएको छ’ एक प्रहरी अधिकारीले भने ।

तस्करहरूले भारतबाहेक तेस्रो मुलुकबाट नेपालको बाटो हुँदै सुन भारत लैजाने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । उक्त परिमाणको सुन पनि नेपाल हुँदै भारत गएको र भारतबाट लक्ष्मणले नेपाल ल्याएको हुनसक्ने अनुसन्धानले देखाएको एक अधिकारीले बताए । 

साढे ३३ किलो सुन प्रकरण चर्चामै रहेको बेला प्रहरीले कञ्चनपुरबाट १८ किलोग्राम सुन बरामद गरेको हो । नेपाली बजारमा १८ किलो सुनको मूल्य ९ करोड रुपैयाँ हुने प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्