लकडाउन र खाद्य उपलब्धता



कोभिड–१९को असर सँगै सुरु भएको खाद्ध संकटले हामी सम्पुर्ण नेपालीको दिनचर्या अप्ठ्यारो बानाउन सुरु गरेको छ। केहि दिन अगाडी कालीमाटीमा दुई जना कृषि व्यापारीमा देखिएको आरडिटी सकारात्मकले प्रायःजसो खुद्रा तरकारी व्यवसायीहरुले त्रसित बानेको छन् भने कतिपय तरकारी पसलहरु बन्द नै छन्। काठमाडौं जस्ता ठूला सहरमा तरकारी तथा फलफुलको अभाव छ भने हाम्रो अर्को जनसंख्यालाई बिहान बेलुका छाक टार्ने समस्या छ।

यसका साथै अहिले हामी दुई फरक किसिमका समाचार सुन्दै र पढ्दै आइरहेका छौँ, एक गत महिना मात्रै भारतबाट ४ अर्ब बराबरको तरकारी तथ फलफूल आयात गर्न परेको र अर्को रूपन्देही, कपिलवस्तु तथा चितवनका किसानहरुले बजार नपाएर तरकारी, दुध, ब्रोइलर कुखुरा खेतमा नष्ट गर्न परेको। यि समाचारले हाम्रो कृषि उत्पादन र माग बिचको दुरीलाई स्पष्ट रुपमा देखाइरहेको छ। यि समस्याहरु कुनै एउटा निकायको एकलरुपमा समाधान गर्न सक्दैन। उपभोक्ता, कृषक र सरकारको संयुक्त प्रयासले मात्रै हाम्रो खाद्ध संकटको समस्या हल गर्न सकिन्छ।

उपभोक्ताको स्थानबाट गर्न सकिने प्रयासहरु

आत्मनिर्भर उत्पादन
आफ्नो उत्पादन आफै गर्ने बानी जब सम्म हामी बसाल्न सक्दैनौँ तब सम्म हामी यसरी नै खाद्ध संकटको सिकार बनिरहने छौं। हाम्रो उपलब्ध जग्गा, कौसीको सकेसम्म प्रयोग गरेर आउने दैनिक साग सब्जीको उत्पादन मात्र गर्न सके पनि स्वास्थ्य, आर्थिक आम्दनी तथा भविष्यमा आइ पर्ने महामारी बाट बच्न सक्छौँ।

अत्यावश्यक सामग्रिको उचित किनमेल
महामारीको सुरुवात सँगै हामीमा सके सम्म बढि किनेर राख्ने मानसिकता हटाउन पर्छ। एकले अर्कोको लागि सरसामान बाँकी राख्ने बानी बसालौँ। साथै अनावश्यक सुख सुविधाका सामानहरुको प्रयोग कटौती गरौँ।

खाना खाने बानीको परिवर्तन
हाम्रो लागि खानाको परिभाषा परापुर्व काल देखि भात, दाल, तरकारी र अचारमा सिमित छ। यो परिभाषालाई अलिकाति उदार बनाउनु आजको आवश्यक्ता देखिन्छ। हामी मध्ये कति जना कुनै कुनै साग सब्जिलाई अति नै घृणा गर्छौँ, प्लेटमा यि तरकारी देख्ने बितिकै हाम्रो पारो छुट्छ्। यस्ता बानीहरुलाई बिस्तारै परिवर्तन गर्नु पर्छ। हामी दाल, भातमा यति भर परे छौँ कि हाम्रो अरु स्वास्थ्य बर्धक अन्न, कोदो, बाजरा तथा अन्य अन्नहरुलाई बिर्सिदै गइरहेको छौँ।

किसानको स्थानबाट गर्न सकिने प्रयासहरु

बिउ जोगाउने प्रयास
हामी यो महामारीको अझै काति दिन, माहिना र बर्ष सम्म सिकार हुने छौँ हामीलाई थाहा छैन। यो परिस्थितिमा पहिलो काम बिउ जोगाउनु हो।

बजारोन्मुख उत्पादन
सानो समयमा आम्दानि गर्न सकिने, उपभोक्तालाई चाहिने बालीहरु तथा बजारको पुर्व जानकारी सहित उत्पादानमा लगानि गर्नु बुद्धिमानी हुन जान्छ।

मिश्रित बाली तथा कृषि प्रणाली
दिगो उत्पादनको लागि बालीहरु मिश्रितरुपमा लगाउन पर्छ। जसले हाम्रो उब्जनीयुक्त जग्गाको पुर्णप्रयोग तथा बढि उत्पादनमा सहयोग पुर्याउन सहयोग गर्छ। जस्तै, मकैको खेति सँगै बोडि, भट्मास तथा अन्य दलहन बालीको खेतिले मुख्य बाली मकैलाई नाईट्रोजन उपल्बध गराएर उत्पादन बढाउछ। साथै पशुपालन र खेतको एकिकृत उत्पादनले हाम्रो भविष्यमा आइ पर्ने मलको अभाव र आर्थिक अभावबाट सुरक्षित गर्छ।

बजारमा आउदा सम्म धेरै जसो तरकारीहरु बिग्रिने हुँदा तिनिहरुको पारिवर्तितरुप जस्तै गरि टमाटरको केचप, मसयौरा, चाना, सिन्कि, अरिकोच, बिडा आदि बनाई ग्राहक सम्म पुर्याउन सकिन्छ। यस्ता क्रियाकलापलाई value addition in crop भनिन्छ।

सरकारीक्षेत्रबाट गर्न सकिने प्रयासहरु

उत्पादन सामग्रिकोको उपल्बधता
बिउ, मल, सिचाँई, बाली संरक्षणभौतिक पुर्वाधार, कृषि प्रसार, सहुलियत दरमा ऋण, बिमा र बजारको व्यवस्था आवश्यक रुपमा गर्न पर्छ।

खाद्य बैंकको स्थापना
नेपाल आफैँमा एक खाद्ध असुरक्षित देशमा पर्ने भएकोले सरकारको प्रमुख दायित्व खाद्ध उपलब्ध गराउनु हो। करिब ४६ लाख जनता अझै पनि कुपोषणका सिकार छन। अहिले भने यो महामारी र लकडाउनले यो संख्या थप गर्न पुगेको छ। यो विकट समस्यालाई समाधान गर्न सरकारी तबरबाट हरेक क्षेत्रमा खाद्ध बैंकको स्थापना गरिन पर्छ जसले गर्दा हरेक जनतालाई खाद्धान्नको परिपुर्ती होस।

किसानको हौसला वृद्धि
यो महामारीमा हामीलाई सबै भन्दा बढि महत्व किसान र खाद्धान्नको लागेको छ। यो अवस्थामा किसानको हौसला बढाउन पर्छ। हुन त किसानलाई आवश्यक सामग्री, बजार व्यवस्थापन नभएको ठाँउमा यि कुरा उपलब्ध गराए मै ठूलो उर्जा र हौसला दिनथ्यो होला। तर यो समयमा अत्यावश्यक सामग्री सँगै अतिरिक्त हौसलाको पनि खाँचो पर्छ। जस्तै पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु एक लाख पुरस्कार दिने भएको छ।यस्तै चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई समेत सोही राशिको पुरस्कार दिइने भएको छ।

यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दाबढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिइने निर्णय गरेको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको हो।

कृषक, व्यापारी तथा उपभोक्तालाई जोड्न पर्ने
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले कोरोना भाईरस संक्रमणबाट उत्पन्न भएको असहज परिस्थितिबाट कृषक र उपभोक्तामा पर्न गएको असुविधालाई ध्यानमा राखेर ‘एग्री प्रोडक्ट म्यारिज ब्यूरो’ सेवा सुरु गरेको छ। यस ‘एग्री प्रोडक्ट म्यारिज ब्यूरो’मा कृषकले उत्पादित कृषि एवम पशुजन्य वस्तुको बजारसंग समस्या आईपरेको खण्डमा सोझै ब्यूरोमा रहेका सदस्यलाई फोन गर्न सक्दछन् ।

ब्यूरोले उत्पादन, उत्पादनको परिमाण, अवस्था लगायतको बारेमा किसानबाट जानकारी लिन्छ । साथै किसानको उत्पादनको परिमाण अनुसार स्थानीय स्तरको हाटबजारको अवस्था, जिल्लामा खपत हुन सक्ने अवस्था भए जिल्लामै व्यवस्थापन गर्ने देखि लिएर ठूलो परिमाणको उत्पादनलाई मुनाको टिमलाई फोन गरेर ब्यूरोले जानकारी गराउँछ । अहिले बाग्मती प्रदेश जस्तै हरेक प्रादेशिक तथा स्थानिय तहमा यस्ता सेवा सुविधा प्रदान गरिन पर्ने हुन्छ।

उचित बजेटको बाडफाँड
कोभिड-१९ले ल्याउने आर्थिक अस्थिरताबाट बचाउने एक मात्रक्षेत्र भनेको कृषि हो। कृषिमा युवा, फर्किएका युवा, गैर(सरकारी क्षेत्रको आकर्षण गर्नलाई उचित बजेट छुट्याउन पर्ने हुन्छ। यो आर्थिक वर्षमा नेपाल सरकारलेकोरोना भाइरसले आर्थिक क्षेत्रमा ठूलो असर परेका कृषि क्षेत्रलाई दिएको ३३ अर्ब १८ करोड बजेटछुट्याएको छ। साथै विभिन्न सरकारी र गैरसरकारीको क्षेत्रको लगानीलाई ध्यान दिन पर्छ।

गैर सरकारी तथा गैर कृषि क्षेत्रको स्थानबाट गर्न सकिने प्रयासहरु

इन्टरनेट, मोबाइल, विभिन्न सुचना तथा सञ्चारको प्रविधिले कृषि क्षेत्रको दुरिलाई कम गर्न सहयोग गर्छ। जस्तै खाद्धान्नको सुरक्षित ओनलाईन डेलिवरीले हाम्रो तत्कालको समस्या समाधान गर्छ।

कृषि नगरिएका जग्गा कतै पनि बाँझो नराख्न निजि क्षेत्र र किसान बिचको सम्झैता त्यति नै महत्वपुर्ण हुन जान्छ। सरकारले पनि भूमिहिन किसानको लागि उचित व्यवस्था गर्न पर्छ।

खाद्य असुरक्षाको समस्या कुनै एक निकायको प्रयासले कहिल्यै पनि समाधान गर्न सक्दैन। यसमा हामी उपभोक्ता, किसान, व्यापारी सबैको संयुक्त सहयोग र कदमको आवश्यक्ता पर्छ। यो महामारी सकिसकेपाछि हामी अर्को ठूलो महामारीबाट बच्न पर्नेछ- भोकमरी।जसको लागि अब आफ्नो प्लेटमा परेको घिरैला र भान्टाको लागि कृतज्ञ हुने देखि किसानको खेतमा सेवा सुविधा पुर्याउन सके मात्र हामी खाद्ध सुरक्षित हुन्छौँ।

(लेखक श्रीनु झा कृषि विस्तारमा कृषि तथा पुशविज्ञान विभाग त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर गर्दैछिन् । )

प्रतिक्रिया दिनुहोस्