तेस्रो मुलुकसँगको व्यापारमा नेपाल सिधा गन्तव्य, भारतीय बन्दरगाहमा कागजी झन्झटबाट मुक्त



वीरगन्ज : तेस्रो मुलुकसँगको ब्यपारमा नेपाल अब सिधा गन्तव्य भएको छ । नयाँ व्यवस्था लागू भएपछि तेस्रो मुलुकबाट बन्दरगाहमा आइपुगेको कन्टेनर ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’(ईसीटीएस) जडान गरी सिधै रेलमा लोड गरी नेपाल ल्याइने भएको हो । 

अब कागजातमा उल्लेख भए अनुसार सिपिङ्ग कम्पनीले वीरगन्जमा ल्याएर आयातकर्तालाई कन्टेनर हस्तान्तरण गर्छ । यो व्यवस्था लागु भएपछि विदेशबाट आउने नेपालका कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त हुने भएको छ । 

कोलकता र हल्दिया बन्दरगाहमा आउने नेपाली सामान बोकेका कन्टेनरमा शुक्रवारदेखि ‘इसिटिएस’ लागु हुन लागेको वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा जानकारी गराइएको हो । व्यापारका लागि पुरानो युगको समाप्तिसँगै नयाँ युगको सुरुवात भएको कार्यक्रममा सहभागीहरूले बताए । शुभारम्भको पूर्व सन्ध्यामा कोलकता तथा हल्दिया बन्दरगाह र आयातकर्ताबीच वीरगन्जमा अन्तरक्रिया भएको हो ।

साबिक व्यवस्थामा आठ प्रकारका कागजात नेपाली आयातकर्ताले बन्दरगाह र त्यहाँस्थित भारतीय भन्सारसमक्ष पेस गर्नुपर्ने व्यवस्था थियो । नेपाललाई गन्तव्य तोकेर आउने कन्टेनरमा भारतीय बन्दरगाहमा विद्युतीय कार्गो निगरानी प्रणाली ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’(ईसीटीएस) जडान गरी त्यहाँबाट पठाउने भएपछि सीमास्थित भारतीय भन्सारले सामान्य चेक जाँच गर्दा पुग्ने भएको छ । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपाल आउने कार्गो प्रायः ढिलो हुने गरेकोमा यो प्रणाली लागु भएपछि समस्या समाधान हुने अपेक्षा गरे । यसअघिसम्म नेपालका आयातकर्ता विलम्ब शुल्कको साथै स्थान शुल्क पनि तिर्नुपर्ने बाध्यतामा थिए । 

उद्योगका लागि चाहिने कच्चापर्दाथ आपूर्ति समयमा हुन नसकेपछि कतिपय कलकारखाना बन्द हुने अवस्थामा पुगेका बेला सुरु हुन लागेको नयाँ व्यवस्थाले उद्योगी व्यवसायीमा खुसी छाएको छ । 

अन्तरक्रियामा कोलकता बन्दरगाहका उप महाप्रबबन्धक बालाजी अरुण कुमार, बन्दरगाहका ट्राफिक मेनेजर हिमांशु शेखर, वीरगन्जस्थित भारतीय महावाािण्ज्यदुतावासका कन्सुलर डा. कोट्रास्वामी एम, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अशोककुमार टेमानीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्