काश्मिर हमलापछि समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको फोन



काठमाडौँ: काश्मिरमा ४२ जना भारतीय सुरक्षाकर्मी मारिने गरी भएको आतंकवादी हमलालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । स्थानीय समयानुसार बिहीबार दिउँसो सवा तीन बजे जैस ए मोहम्म आतंकवादी समूहले काश्मिरको पुलवालामा गरेको हमलामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका ४२ जना जवान मारिएको खबर पाएपछि ओलीले मोदीलाई फोन गरेका हुन् । 

मोदीसँगको फोन वार्ताका क्रममा प्रम ओलीले काश्मिरमा आज भएको आतंकवादीको हमलाको निन्दा र भत्र्सना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । प्रधानमन्त्रीले मोदीसँगको फोनवार्ताका क्रममा आतंकवादी हमलामा मारिएका जवानहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रम ओलीले आतंककारी कृयाकलपा जुनसुकै रंग, जाति या क्षेत्रको भए पनि त्यो सधैँ निन्दनीय हुने बताउँदै यो संकटको घडीमा आफू र नेपाल भारतको साथमा रहेको बताएका थिए ।

परराष्ट्रको विज्ञप्ति 

यसैबीच परराष्ट्र मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति निकाल्दै काश्मिरमा भएको चरमपन्थी हमलाको कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्रले कुनै पनि किसिमको आतंकवादी गतिविधि नेपालका लागि सह्य नहुने जनाएको खवर अन्नपुर्णमा छ ।  

परराष्ट्र मन्त्रालयले काश्मिरमा भएको हमलामा मारिएकाहरू सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गरेको छ । परराष्ट्रले यो संकटको घडीमा नेपाल भारतको पक्षमा सदैव रहने पनि उल्लेख गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्