गाईघाट : लागू औषध कारोबारका लागि ट्रान्जिट प्वाइन्ट



उदयपुर : उदयपुरको सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचि, नेपालटार, साउने बजार लागू औषध कारोबार तथा सेवनका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको पाईन्छ । पछिल्लो समय सदरमुकाम गाईघाटबाट, नेपालटार, मुर्कुचि, सल्ले, धाप्लाङ, साउने, खाँबु, फोक्सीन्टार, लगायत ओखलढुंगा, खोटाङ र भोजपुर जिल्लाका लागि लागु औषध ओसापसार हुन थालेपछि गाईघाट बजार लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सरोकारवालाको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०७४/७५ अबधिमा लागु पदार्थ सम्बन्धि बिशेष अभियान चलाएको छ । सो अभियान अन्र्तगत लागु पदार्थ सेवन तथा ओसार पसार गर्ने १३० जना युवाहरुलाई पक्राउ गरि कारबाही चलाएको जनाएको छ । त्यसमा ८३ जनालाई औषध मुद्धा दर्ता गरेको बाँकी सबैलाई सार्वजनिक अपराधमा मुद्धा चलाएको प्रहरीले जनाएको छ । प्रहरीले लागु औषध सम्बन्धि मुद्धा चलाएका मध्ये ४५ जना पुर्वक्षका लागि कारागार चलान भएको प्रहरीले जानकारी दिए ।

लागू औषध तस्करहरुले सिरहा, सप्तरी र भारतबाट ल्याएर गाईघाट बजारमै भण्डार गरेर अन्यत्र सप्लाई गर्ने गरेको सुचनाको आधारमा प्रहरी बिशेष अप्रेसन थालेको र सफलता समेत हात लागेको प्रहरीको भनाई रहेका छन् । भारतीय सिमावर्ती शहर वीरपुर, कुनौली, पातो र लौकहीबाट ल्याइएको लागू औषध सप्तरीको सगरमाथा लोकमागको कदमाहा–गाईघाट सडक मार्ग हुदै भित्रयाई गाईघाट बजारमा भण्डार हुने गरेको सरोकारवाला बताउँछन ।

सुनसरी, सप्तरी, सिरहा र भारतीय सिमा शहरबाट कंचनपुर फत्तेपुर सडक हुँदै सुन्दरपुर हडिया, जोगिदहको बाटो हुदै पनि लागु औषध आउने गरेको एक प्रयोगकर्ताले जानकारी दिए । गाईघाट बजारबाट अन्यत्रका लागि फेनारगन, फोरबिन, लुपिजेसीक, डाईजिपाम, कोरेक्स, फोटवाई, नाइटोसन, फेनारगनल, टिजिजेसिक, चरेस र गाँजा लगायतका लागू औषधको खुलेयाम सप्लाई हुने गरेको एक ब्यापारीले बताएको छ ।

सिरहा र सप्तरीको विभिन्न स्थानमा भण्डार गरी कदमाहा, मिर्चैया र फत्तेपुर नाका हुँदै आउने लागू औषध प्रहरीको आँखा छलेर चोरबाटो हुँदै गाईघाट, कटारी, बेल्टार, रामपुरठोक्सिला बजारमा भण्डार हुने गरेको एक सेवककर्ताले जानकारी दिए । मुख्य गाईघाट, बेल्टार र कटारी बजारलाई लक्षित गरेर ल्याउने लागू औषध बजार आसपासका क्षेत्रमा भण्डार गरेर बाहिर बिक्री वितरण गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयबासीले जानकारी दिए ।

प्रहरीले लागू औषध नियन्त्रणका लागि सक्रियता बढाएको बताउँदै आएको भएतापनि नियन्त्रण हुनुको सट्टा प्रयोगकर्ता र लागु औषध ओसार पसार झन बृद्धि हुदै गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङले देखाएको छ । सेवनकर्ताले लागु औषध खरिद गरि प्रयोगकर्ताहरुले बरुवा खोलाको तल माथिको पक्की पुल, ढिम्की मन्दिर आसपास, बजार नजिकैको जंगल, बरुवा खोला किनारा, त्रियुगा नदिको पुल मुनि, जलजले र चुरियाको जंगलमा गई प्रयोग गर्ने गरेको एक प्रयोगकर्ताले बताएको खवर राजधानीमा छ ।

गाईघाट बजारमा किशोर अवस्थाको किशोर, किशोरीहरु अत्याधिक मात्रमा लागु औषधको सिकार भएका छन । लागु औषध प्रयोगकर्तामा भर्खर विद्यालय शिक्षा लिदै गरेको १४ वर्षदेखि २५ वर्ष सम्मका किशोर किशोरी देखि युवा युवती सम्म रहेको एक तथ्याङले देखाएको छ । जसमा बढी किशोर किशोरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्