इरानमा बम बिस्फोटमा २० रिभोल्युशनरी गार्ड मारिए



तेहरान: इरानमा दक्षिणपूर्वी क्षेत्रमा भएको एक आत्मघाती बम हमलामा कम्तिमा पनि २० जना रिभोल्युशनरी गार्डको मृत्यु भएको छ । सिस्तान बलुचिस्तान प्रान्तमा खाश–जहेदान सडकमा रिभोल्युशनरी गार्डलाई लिएर गइरहेको बसलाई निशाना बनाएर हमला भएको थियो ।

इरानको सरकारी समाचार एजेन्सीले सुत्रको हवाला दिदै अन्य २० जना सो घटनामा परी घाइते भएको जनाएको छ । सुन्नी मुस्लिम चरमपन्थी समूह जैश अल–अद्लले यो घटनाको जिम्मेवारी लिएको छ । जैश अल–अद्ल समूहले सने २०१२ मा इरानका सुन्नीको अधिकारका लागि लडाई लड्ने भन्दै हतियार उठाएको थियो ।

यो समूहले हालैका दिनमा सिस्तान–बलुचिस्तानमा केही हमला गरेको थियो । यो इलाका सुन्नी बलूची समुदायको जनसंख्या बढी भएको क्षेत्र हो । रिभोल्युशनरी गार्डको दक्षिण–पूर्वी शाखाले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको सीमा नजिकैको इलाकाबाट फर्किने क्रममा विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराई सो हमला भएको जनाएको छ । सो बयानमा विस्फोटमा कति नोक्सानी भयो भन्ने बारेमा केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्