‘कोरोनाका कारण एसियाकै सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा’



काठमाडौं : कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा यो स्तरको क्षति हुनेछ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालमा हुने आर्थिक क्षति एसियाली मुलुकमध्ये सबैभन्दा बढी हो ।

अन्य दक्षिण एसियाली मुलुकहरू भारतमा जिडिपीको ६ प्रतिशत, बंगलादेशमा ६ दशमलव ६ प्रतिशत, पाकिस्तानमा ५ दशमलव १ प्रतिशत र श्रीलंकामा ६ प्रतिशतसम्म कोरोनाका कारण क्षति हुने अनुमान एडिबीको छ । 

एसियाली मुलुकमध्ये नेपालपछि सबैभन्दा गम्भीर आर्थिक क्षति दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशत र चीनमा ११ दशमलव २ प्रतिशत हुने अनुमान एडिबीको छ । तर, कोरोनाको रोकथाम ३ महिनामै भयो र सरकारहरूले ठोस नीतिगत पहल गरे क्षति कम हुन सक्ने पनि एडिबीको अनुमान छ । 

कोरोना सुरु भएको तीन महिनाभित्रै रोकथाम भएको अवस्थामा नेपालमा क्षति जिडिपीको ७ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ५४ अर्ब रुपैयाँ हुने अनुमान एडिबीको छ । तर, नेपालमा कोरोनाको तीव्र विस्तार हालै मात्रै भएको र लकडाउनकै अवधि तेस्रो महिना सुरु हुन लागेकाले तीन महिनामा प्रभाव रोकथामको सम्भावना छैन ।

कोरोनाका कारण नेपालको अर्थतन्त्रको १३ दशमलव ६ प्रतिशत अर्थात् साढे ४ खर्ब क्षति हुने एडिबीको प्रक्षेपण, कोरोनाको उद्गमस्थल चीनमा जिडिपीको ११ र भारतमा ६ प्रतिशत मात्रै क्षति

चैतमा सुरु भएको लकडाउनपछि नेपालमा कोरोनाको असर सुरु भएको मान्दा यसको असर अर्को आर्थिक वर्षसम्म पनि जारी हुनेछ । त्यसो हुँदा त्यसको सम्पूर्ण असर यही आर्थिक वर्षको आर्थिक वृद्धिमा प्रतिबिम्बित हुने भने छैन, आगामी आर्थिक वर्षमा पनि यसको प्रभाव देखिनेछ । 

एसियाली विकास बैैंंकले यसअघि नेपालको अर्थतन्त्रको ४ दशमलव ८७ प्रतिशत अर्थात् करिब १ खर्ब ८० अर्ब क्षति हुन सक्ने आकलन गरेको थियो । डेढ महिनाअघि गत ३ अप्रिलमा गरेको अनुमानलाई संशोधन गर्दै एडिबीले नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ, जुन निकै डरलाग्दो देखिन्छ । 

कोरोनाको महामारी नभएको भए कुल गार्हस्थ्य उत्पादन कति हुन्थ्यो र कोरोनाका कारण कति गुम्छ भन्ने अनुमानका आधारमा एडिबीले यो तथ्यांक सार्वजनिक गरेको हो ।
 
कोरोनाको संक्रमण नभएको भए चालू आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभाग, अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) लगायतले प्रक्षेपण गरेका थिए । कोरोनाको प्रभावका कारण यस आवमा नेपालमा १ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण आइएमएफले गरिसकेको छ । केन्द्रीय तथ्यांक विभागले हालै आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

लकडाउन वैशाखसम्म मात्रै कायम रहने र जेठबाट आर्थिक गतिविधि सामान्य बन्दै जाने परिस्थितिमा सो प्रक्षेपण गरिएको थियो । तर, लकडाउन नै २० जेठसम्म थपिएको तथा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा आर्थिक गतिविधि यो आर्थिक वर्षभरि नै सामान्य नहुन सक्छ । यस्तो अवस्थामा आर्थिक वृद्धि अझै कम हुने विभागकै भनाइ छ ।

कोरोनाका कारण विश्व अर्थतन्त्रमा १० हजार ५ सय ६० खर्ब रुपैयाँ क्षति

एडिबीको सोही प्रतिवेदनले कोरोनाका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी डलर अर्थात् १० हजार ५ सय ५० खर्ब नेपाली रुपैयाँबराबर क्षति हुने प्रक्षेपण पनि एडिबीले गरेको छ । कोरोना संक्रमण रोकथाम हुन ६ महिना लाग्यो भने विश्व अर्थतन्त्रको ९ दशमलव ७ प्रतिशत क्षति हुने प्रक्षेपण एडिबीले गरेको हो । 

३ महिनामै कोरोना रोकथाम भयो भने आर्थिक क्षति विश्वको कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ४ प्रतिशत अर्थात् ५८ खर्ब अमेरिकी डलर हुने अनुमान पनि एडिबीको छ । यसअघि गत ३ अप्रिलमा एडिबीले विश्व अर्थतन्त्रमा अधिकतम ४१ खर्ब डलरको क्षति हुने अनुमान गरेको थियो । त्यसको डेढ महिनापछि नै उसले विश्वमा आर्थिक क्षति पहिले अनुमान गरेभन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।

तर, जनतालाई जीवनयापन गर्न राहतस्वरूप सरकारले केही रकम दिनेलगायत नीतिगत काम गर्न सक्यो भने क्षतिलाई ३० देखि ४० प्रतिशत कम गर्न सकिने पनि एडिबीको भनाइ छ । नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्