स्ववियु निर्वाचन नहुने 



काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा यस वर्ष स्ववियु चुनाव हुने सम्भावना टर्दै गएको छ । चुनाव फागुनमा गर्ने शैक्षिक क्यालेन्डर छ । तर, त्रिविले अहिलेसम्म मिति समेत घोषणा गर्न सकेको छैन ।  दलका नेता र विद्यार्थी संगठनसमेत स्ववियु चुनावका लागि सकारात्मक देखिएका छैनन् । प्रमुख प्रतिपक्षी कांग्रेस स्ववियु चुनावको पक्षमा छैन । ठूला विद्यार्थी संगठनले औपचारिकताका लागि मात्र स्ववियु चुनाव हुनुपर्ने बताउँदै आएका छन् ।

त्रिविले ६ महिनादेखि स्ववियु चुनावको तयारी गरेको थियो । त्यसका लागि त्रिविले शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन समिति बनाउनुपर्छ । विद्यार्थी कल्याण निर्देशनालयबाट शिक्षाध्यक्षसहित हुँदै त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म निर्वाचन समितिको नाम सिफारिस भएको छ । तर, झन्डै दुई हप्ताअघि सिफारिस पुगे पनि खनियाँले समितिको निर्णय गरेका छैनन् । समिति नबन्दा निर्वाचनको घोषणा भएको छैन । स्ववियुनियममा शिक्षाध्यक्षको अध्यक्षतामा निर्वाचन कमिटी बन्ने व्यवस्था छ । 

शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले निर्वाचन समिति नबनेको र विभिन्न पक्षबाट भएका गतिविधिले स्ववियु चुनावको सम्भावना टर्दै गएको बताइन् । त्रिपाठीले भनिन्, ‘फागुन १४ मा स्ववियु चुनाव गर्ने गरी शैक्षिक क्यालेन्डर बनायौँ, अहिलेसम्म निर्वाचन समितिसमेत घोषणा भएको छैन । यो महिनामा हुन नसके परीक्षालगायत कारणले स्ववियु चुनाव गर्न सक्ने अवस्था छैन ।’

 परीक्षा प्रभावित हुन सक्ने

स्ववियु चुनाव फागुनभन्दा पछि धकेलिए शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त हुन्छ । चुनाव घोषणा हुने पर्खाइले वार्षिक प्रणालीको त्रिवि परीक्षाको कार्यतालिका प्रभावित भइसकेको छ । ‘बिबिएस, बिएस्सी र बिएड चौथो वर्षको कार्यतालिका निकाल्न ढिला भयो, चैत पहिलो साता गर्ने भनेको परीक्षा तेस्रो साता पुगेको छ,’ परीक्षानियन्त्रक पुष्पराज जोशीले भने । फागुनमा स्ववियु निर्वाचन नभए सेमेस्टर प्रणालीसमेत प्रभावित हुने पदाधिकारीको भनाइ रहेको खवर नयाँपत्रिकामा छ । 

विद्यार्थी संगठन पनि आन्तरिक समस्यामा

ठूला विद्यार्थी संगठन आफैँ आन्तरिक समस्यामा छन् । उनीहरूको चासो स्ववियु निर्वाचनमा कम देखिन्छ । साबिकको एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि उनीहरूका विद्यार्थी संगठन अझै एकता भएका छैनन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रदेखि तल्लो तहसम्म बेग्लाबेग्लै संगठन छ । क्याम्पस कमिटीमा समेत एकता भएको छैन । 

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले स्ववियु चुनाव नहुनमा नेविसंघलाई कारण देखाए । ‘अघिल्लोपटक नेविसंघकै कारण सबै ठाउँमा हुन सकेन । यसपटक पनि नेविसंघकै आन्तरिक समस्याले निर्वाचन प्रभावित हुन खोज्दै छ,’ उनले भने, ‘अखिल चुनावमा जान उत्साहित छ । उनले दुई अखिल एक नभए पनि मातहतका कार्यक्षेत्रमा एक भएर लागेको दाबी गरे । ‘अखिलका दुई संगठन भएकै वेला नेविसंघलाई निर्वाचनमा आउने आधार बन्न सक्छ,’ उनले भने । लामिछानेले त्रिवि पदाधिकारीलाई विद्यार्थीतिर समस्या तेस्र्याएर स्ववियु चुनावबाट नभाग्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्