राहत माग्नेहरु श्रमतर्फ



नारायणपुर : बन्दाबन्दीको झण्डै डेढ महिनापछि दाङको तुलसीपुर उपमहानगरपालिका ५ की चन्द्रकला विक राहत पाऊँ भन्दै उपमहानगरपालिकाको कार्यालयमा पुगे । उनले वडा कार्यालयमार्फत पहिलो चरणको राहत लिएको पनि महिना दिन भइसकेको थियो । राहतमा पाएको एक बोरा चामल सकिएपछि फेरि राहत लिन भन्दै उनी कार्यालयमा पुगेका थिए ।

विकलाई नगर प्रमुख घनश्याम पाण्डेले राहत हैन काम दिन्छौँ भन्दै काम भइरहेको ठाउँ देखाइदिए । लकडाउनको समयमा काम नपाएर खर्च चलाउन मुश्किल भइरहेका समयमा काम पाइने ठाउँमा विक पुग्नुभयो । पहिले जस्तै दिनदिनै काम पाउने भएपछि उहाँले अब राहत माग्नु नपर्ने बताए ।

तुलसीपुर ६ की पुष्पा क्षेत्री निर्माण मजदूर हुनुहुन्छ । उनलाई पनि लकडाउनले साँझबिहानको छाक टार्न मुश्किल परेको थियो । उनी पुनः राहत माग्नका लागि वडा कार्यालय पुग्दा जनप्रतिनिधिले वडामा भइरहेको विकास प्राधिकरणको काममा देखाएपछि उहाँले काम गर्न शुरु गरेका छन । “घरमा दाल चामलको आवश्यकता छ, ज्यालामा पैसाभन्दा अहिले दालचामल नै लग्ने सोचेकी छु”, क्षेत्रीले भने ।

उपमहानगरपालिकाले अहिले विकास प्राधिकरणको काम सुरु गरेको छ । काम शुुरु गरिएका वडामा सोही ठाउँका विपन्नलाई श्रमिकका रुपमा काममा लगाइएको उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखाका अधिकृत भीमप्रकाश खत्रीले जानकारी दिए । उपमहानगरपालिकाले विपन्नलाई बाँडेको राहत वितरण र अहिले काम गर्ने श्रमिकको तथ्याङ्क हेर्ने हो भने काम पाउँदा पनि श्रमिक नआएको भन्ने प्रष्ट हुन्छ । वडा नं १ मा १९१ जनालाई राहत वितरण गरिएकामा अहिले नौ कामदारले मात्र कामका लागि आवेदन दिएर काममा आएका छन् ।

त्यस्तै वडा नं २ मा ३५५ जनामा राहत वितरण गरिएकामा अहिले १५ जनाले कामको निवेदन दिएका छन् । वडा नं ३ मा ४३६ जनाले राहत लिएकामा २० जनाले मात्र कामका लागि निवेदन दिएको विपद् व्यवस्थापन शाखाले जनाएको छ । वडा नं १२ मा ६६ जनाले राहत पाएकामा १५ जनाले कामका लागि निवेदन दिएका थिए तर काममा भने जम्मा नौ जना आएका छन् । त्यस्तै वडा नं १६ मा ५६ जनाले राहत लिएकामा पाँच जना मात्रै कामका लागि आएको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

उपमहानगरपालिकाले यतिबेला राहत वितरण बन्द गरेर श्रमसँंग जोड्न थालेपछि धेरै श्रमिक काममा लागेका छन् । पहिलो चरणमा नगरका गरीब, विपन्न र श्रमिकलाई राहत वितरण गरिएपछि उपमहानगरपालिकाले राहतको साटो श्रम लिएर पारिश्रमिक दिन थालेको छ । राहत लिनेको चाप अत्यधिक बढ्न थालेपछि त्यसको साटो काम दिन थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

“राहत अल्पकालीन हुन्छ, सुरक्षित भएर श्रम गर्ने वातावरण भएपछि त्यो दीर्घकालीन हुन्छ भनेर यो नीति ल्याएका हौँ”, नगरप्रमुख पाण्डेले भने, “अहिले वास्तविक विपन्न, श्रमिक र गरीबले काम गरेर खाने वातावरण बनेको छ ।” अशक्त वृद्धवृद्धालाई भने उपमहानगरले आवश्यकतानुसार राहत दिइरहेको छ । काम दिँदा पनि काम गर्न नआउने र राहत माग्नेलाई अव नदिइने उपमहानगरपालिकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले पनि राहतको सट्टा काम दिने कार्यक्रम शुरु गरेको जनाएको छ । घोराही वडा नं १७ र ४ बाट श्रम बैङ्कमार्फत कामको थालनी भएको उपमहानगरपालिकाका रोजगार संयोजक शरद पाण्डेले जानकारी दिए । घोराही वडा नं १७ का वडाध्यक्ष खुशीराम चौधरीले ती सय जनालाई यसरी काममा लगाइसकिएको जानकारी दिए । यसअघि वडामा ५५० परिवारलाई राहत बाँडिएकामा अहिले तीन सय जनालाई रोजगारी दिइसकिएको चौधरी बताउछन । रासस

काममा आउनेहरुलाई सडक, पोखरी, सिंचाइ, विद्यालयको भौतिक निर्माणलगायत काममा लगाइएको उनको भनाइ छ । घोराहीका नगर प्रमुख नरुलाल चौधरीले राज्यको ढुकुटी सदुपयोग होस् भन्नका लागि राहतको साटो काम दिने योजना बनाइएको बताए । उपमहानगरपालिकाले नगरका सबै विपन्न र श्रमिलाई भोकै बस्नु नपर्ने वातावरण बनाएकाले श्रम बैङ्कमा काम गर्न उहाँले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्