जनता समाजवादीमा अध्यक्ष को ?, नेतृत्वका लागि विवाद शुरु



काठमाडौं : एकीकृत जनता समाजवादी पार्टी (जसपा) मा नेतृत्वको विषयलाई लिएर विवाद शुरु भएको छ ।

गत १० वैशाखमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण भएको एक महिना पुग्नै लाग्दा नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । एकिकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा विवाद शुरु भएको छ ।

केन्द्रीय समितिको अध्यक्षमा राजपाले महन्थ ठाकुरलाई अघि सारेको छ भने समावादीले उपेन्द्र यादवलाई बनाउन प्रस्ताव गरेको छ । नेतृत्वमै बिवाद शुरु भएपछि एकिकृत पार्टीको सांगठनिक संरचना एवं एकीकरण प्रक्रिया स्थगित भएको जसपा स्रोतले जनाएको छ ।

दुई पार्टीवीच एकीकरण घोषणा अघि ठाकुरलाई एकीकृत पार्टीको अध्यक्ष बनाउने सहमति भएको थियो । तर, सो सहमतीबाट पछाडी हट्दै समाजवादीले यादवलाई अघि सारेपछि विवाद शुरु भएको छ ।

जसपा एक नेताका अनुसार एकिकृत पार्टीको अध्यक्षमा तत्कालिन दुबै पार्टीको दाबी भएकाले एकीकरण प्रक्रिया अहिले स्थगित भएको छ । नेतृत्वको टुंगो आन्तरिक सहमतिबाट लगाउँदै पार्टी एकीकरणको घोषणा भएको थियो ।

‘केन्द्रीय समितिको अध्यक्षमा अहिले दुबै पार्टीले दावी प्रस्तुत गरेका छन्’ जसपा स्रोतले भन्यो, ‘नेतृत्वमै अहिले आएर अडकिएको छ, दुबै पार्टीले अध्यक्ष आफैले पाउँनुपर्ने अडानमा छन् ।’

पार्टी एकीकरण पश्चात चार सदस्यीय विधान एवं घोषणपत्र मस्यौदा समिति गठन भएको थियो । राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र समाजवादीबाट राजेन्द्र श्रेष्ठ, नवराज सुबेदी सदस्य रहेका थिए । यो समितिले केन्द्रमा बिभिन्न ११ वटा सांगठनिक संरचना रहने गरी बिधान निर्माण गर्यो ।

राष्ट्रिय महाधिवेशन, संघीय परिषद, केन्द्रीय समिति, केन्द्रीय राजनीति समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरिक्षण आयोग रहने प्रस्ताव विधानमा गरिएको छ ।
संघीय परिषदको अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा यादवलाई राख्नुपर्ने प्रस्ताव समाजवादीले गरेको छ । तर, राजपाले केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई राख्नुपर्ने अडानमा छ ।

केन्द्रीय समितिको अध्यक्ष टुंगो नलागेपछि अन्य संगठनको नेतृत्वको बारेमा केही छलफल हुन सकेको छैन् । दुबै पार्टीको गत मंगलबार बसेको बैठकमा नेतृत्वको बारेमा चर्काचर्की भएपछि त्यसयता बैठक हुन सकेको छैन ।

पूर्व सहमतिबाट पछि हट्दै केन्द्रीय समितिमा समाजवादीले दाबी गरेपछि राजपा नेता राजेन्द्र महतो र शरतसिंह भण्डारीले कडा रुपमा प्रस्तुत भए । फुटनै लागेको पार्टी एकीकरण गरेर जोगाएको बताउँदै महतो र भण्डारीले अहिले आएर सहमतिबाट पछि हट्ने र अनेक दावी गर्ने भन्दै कडा रुपमा प्रस्तुत भएको स्रोतको दाबी छ ।

दुबैपक्षबीच चर्काचर्की भएपछि भट्टराईले अब अर्को बैठकबाट टुंगो लगाउँने भन्दै बैठक सकिन आग्रह गरेका थिए । त्यसपछि बैठक बस्न नसक्दा नेतृत्व सहित विधानको बारेमा टुंगो लाग्न सकेको छैन ।

मस्यौदा समितिले विधान बनाएर पार्टीमा बुझाएपछि त्यसमा ठाकुरले आपत्ति जनाएका छन् । उनले कम्युनिष्ट पार्टीको जिधानसँग मिल्ने गरी बिधान बनाएकाले त्यसलाई लोकतान्त्रि पार्टी सरह बनाउँन निर्देशन दिए ।

समाजवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने पक्षमा भएको दल हो भने राजपा संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने (हालको व्यवस्था) व्यवस्थाको पक्षमा उभिदै आएको पार्टी हो । दुबै दलको विधानमा समेत सोही कुरा उल्लेख भएको छ ।

समाजवादी पार्टीको नेतृत्व तहका नेता कम्युनिष्ट पृष्ट भूमिका नेताहरु छन भने राजपाको नेतृत्व तहमा रहेका नेताहरु प्रजातान्त्रि पृष्टभूमि भएका नेताहरु छन् । दुबै दलका नेताहरुको वैचारिक पृष्टभुमी फरक फरक छ ।

नेतृत्व, विधान लगायतका विषयमा देखिएको बिवाद समाधानका लागि दुबै पार्टीले पहल गरिरहेका छन् । तर, सहमति हुन नसकेको एक नेताले बताए ।

राजपाबाट ठाकुर, महतो, भण्डारी र महेन्द्रराय यादव तथा समाजवादीबाट भट्टराई, यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले नेतृत्व, बिधान लगायतका समस्या समाधान गर्दै टुंगो लगाउँने जिम्मेवारी पाएका छन् । यही आठ नेताले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । पार्टी एकता सहमती पत्रमा उल्लेख भए अनुसार नेताहरुको व्यवस्थापन, नेतृत्व सहितका लगायतका विषय समानताको आधारमा टुंगो लगाउँने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्