कोरोनाविरुद्धको खोप पहिलो मानवीय परिक्षण सफल, वैज्ञानिकहरु भन्छन्-‘योभन्दा उत्तम नतिजा आउँदैन’



एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको खोप परिक्षण सफल भएको वैज्ञानिकले बताएका छन् ।

खोपबारे तीव्र रुपमा अध्ययन गरिरहेको नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले गरेको पहिलो चरणको खोप परिक्षण सोचेको भन्दा धेरै सफल भएको दाबी गरेको छ ।

एमआरएनए-१२७३ नामक खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। कम्पनीका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ।

मोडर्नाले पहिलो चरणको परिक्षणमा सकरात्मक नतिजा आएको बताउँदै भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’

कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन्।

तर, यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन्। आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकरी दिएका छन्।

कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।

अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ। रोयटर्स

प्रतिक्रिया दिनुहोस्