बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल



बाँके : बाँकेको नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका लागि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा सिल गरेको छ ।

बाँकेको नरैनापुरका एकै दिन ५९ जनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ ।

सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका आठ जनालाई दाङ आइसोलेसन अस्पतालमा पठाइएको छ ।

सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेसन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्