हिरो गोल्डकपमा आज उपाधि भिडन्त



काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलको फाइनलमा नेपाली महिला टोलीले शुक्रबार म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ। चार टोली सहभागी गोल्डकपमा नेपालले लिग चरणको उपविजेताका रूपमा फाइनलमा स्थान बनाएको हो।

तीन खेलमा नेपालले दुई जित र एक हार आत्मसात् गरेको थियो। म्यानमार सबै खेल जितेर समूह विजेता बन्दै फाइनलमा पुगेको थियो। लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले बलियो टोली इरानलाई ३–० गोलले हराएको थियो। अर्को खेलमा म्यानमारले आयोजक भारतलाई २–० गोलले हराएपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो। पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको थियो।

फाइनलमा नेपाललाई म्यानमारसँग लिग चरणमा भोगेको हारको बदला लिने राम्रो अवसर पनि जुरेको छ। नेपालले दोस्रो खेलमा आयोजक भारतलाई २–१ गोलले पराजित गरेको थियो। सिनियर महिला टोलीले भारतलाई हराएको यो नै पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्