दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी



दैलेख : कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी गरिएको छ । आठबीस नगरपालिका—१, सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मंगलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए ।

लकडाउनको ५६ औं दिन कर्णाली प्रदेशको दैलेखमा पहिलो कोरोना संक्रमित भेटिएका हुन् । शनिबार स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति त्यहाँबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।

महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस्