भू–मध्य सागरको वायुले मौसम केही दिन प्रभावित हुने



काठमाडौं: भू–मध्य सागरको वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरि दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।  

निरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उनले भने–‘अब २–३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।’यसको प्रभावले सुधारउन्मुख तापक्रम फेरी घट्ने रिमालले बताए । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदुर पश्चिम भित्रिएको पश्चिमी न्यून चापिय प्रणालीको असरले बुधवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ ।

प्रतिक्रिया दिनुहोस्