पाँचथरमा हावाबाट बजु्ली निकाल्ने तयारी अन्तिम चरणमा, केही दिनमै बिजुली बल्ने



फिदिम : पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 

परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न लागिएको हो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो ।

 

दुई वर्षअघि वायू उर्जाको टावर राखेर बिजुली उत्पादनका लागि परीक्षण गरिएको थियो । अहिले बिजुली उत्पादनको अन्तिम चणमा पुगेको वडाध्यक्ष तथा वाय उर्जा उपभोत्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । ‘अधिकांश काम पुरा भइसकेको छ’, शेर्माले भने,‘अबको केही दिनमै बिजुली उत्पादन सुरु हुन्छ ।’

 

टावर राखिएको ठाँउमा अहिले भवन निर्माणको काम समपन्न गरिएको छ । निर्माण गरिएको भवनमा ब्याट्री राख्न बाँकी रहेको छ । भवन र सौर्य, वायू उर्जाको कन्ट्रोल एरियाको सुरक्षाको लागि कम्पाउन्ड निर्माणको कार्य धमाधम भइरहेको छ । अब केही दिनमा विन्ड टर्वाइन निर्माणको कार्य सुरु हुने भएको हो ।

 

सप्तमी सौर्य, वायुऊर्जा मिनी ग्रिड नामक योजनामार्फत हावाबाट बिजुली निकाल्न लागिएको हो । एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैयाँको सहयोगमा हावाबाट बिजुली उत्पादन प्रक्रिया अघि बढाइएको हो । कुल लागतको १० प्रतिशत लगानी स्थानीय उपभोक्ताले व्यहोरेका छन् । उपभोक्ताका तर्फबाट उक्त रकम संकलन भइसकेको शेर्माले जानकारी दिए ।

 

विजुली निकाल्ने जिम्मा टपसन इनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभी विराटनगर निर्माण कम्पनीले पाएको छ । वैकल्पिक ऊर्जा विकास केन्द्र काठमाडाैको प्राविधिक सहयोगमा काम गरिएको हो ।

 

यो योजनाबाट योजनामा वायु ऊर्जाका साथै सौर्य ऊर्जा पनि रहने निर्माण पक्षले बताएको छ । सौर्यबाट ५० किलोबाट र वायुबाट २० किलोवाट गरी ७० किलोवाट विद्युत् उत्पादन हुने ठेकेदार कम्पनीले जनाएको छ ।

 

दसैंतिहार सकिएलगतै हावाबाट विद्युत् उत्पादन गरी बिजुली बाल्ने निर्माण कम्पनीको तयारी रहेको बताइएको छ । उक्त आयोजनाको सम्पन्न सप्तमी बजारका एक १० घरधुरी लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्