संक्रमित पत्रकार र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ



जनकपुरधामः बैशाख ३० गते राती कोरोना भाईरस संक्रमणको चपेटामा परेका जनकपुरका एक जना सञ्चारकर्मी र पुस्तक व्यवसायीको परिवारका सबै सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा जनकपुरका ४० बर्षिय पत्रकारको परिवारका ५ जना र ३५ बर्षिय पुस्तक व्यवसायीको परिवारका ३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

ति दुबैजनाको परिवारका सदस्यहरुको जेठ १ गते स्वाब संकलन गरि परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका वडा न.७ का वडाध्यक्ष जानकीराम साहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका पत्रकारका पिता, पत्नी,दुईजना बच्चा र सालो तथा पुस्तक व्यवसायीका पत्नी र दुई बच्चाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।

त्यस्तै वडा न.७ स्थित स्वस्तिक अस्पतालको क्वारेन्टाइनमा रहेका अन्य ६ जनाको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको बताइएको छ ।

गत बैशाख ३० गते राती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा जनकपुरका पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टी गरिएको थियो ।

संक्रमित पत्रकार र पुस्तक व्यवसायी अहिले जनकपुर नर्सिङ्ग क्याम्पसमा सञ्चालित कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्