अमेरिकामा राष्ट्रिय सङ्कटकाल !



एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसद्लाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको विवरण बाहिर आएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले भनिन्, "राष्ट्रपतिले आफ्नो वाचा पूरा गर्दै पर्खाल बनाउने, सीमा सुरक्षित राख्ने र हाम्रो महान् देशको सुरक्षा गर्नेतर्फ काम गर्न लाग्नु भएको छ।" तर विपक्षी सांसदहरूले "शक्तिको चरम दुरुपयोग" गर्न लागेको भन्दै ट्रम्पको आलोचना गरेका छन् । एक दशमलव तीन अर्ब डलर बराबरको खर्च विधेयकलाई सिनेटले समेत पारित गरिसकेको छ । अब त्यो विधेयक डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभामा पुगेको छ ।

अमेरिकी संसद्ले पारित गरेपछि मात्र त्यो विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन् । विपक्षी डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पले चाहेजस्तै मेक्सिकोको सीमामा पर्खाल बनाउन पाँच अर्ब डलरभन्दा बढी रकम पारित गर्न अस्वीकार गरिरहेका छन् । पर्खाल योजना ट्रम्पको चुनावी वाचा हो । तर त्यसलाई साकार तुल्याउन ट्रम्पले आवश्यक बजेट नपाएपछि विवाद चुलिएको हो । अमेरिकामा सङ्कटकाल घोषणा भएको अवस्थामा राष्ट्रपति ट्रम्पले हाल सेना वा विपद् व्यवस्थापनका लागि छुट्याइएका बजेट पर्खाल परियोजनाका लागि लैजान सक्छन् ।

तर डेमोक्र्याट तथा केही रिपब्लिकन नेताहरूले राजनीतिक प्रक्रियालाई बलमिच्याइँ गर्ने र सङ्कटकाल घोषणा गर्ने ट्रम्पको योजनाप्रति आपत्ति जनाइरहेका छन् । सिनेटमा रहेका डेमोक्र्याटिक नेता चक शुमरले ट्रम्पले "कानुनहीनता"को स्थिति निम्त्याउन खोजेको आरोप लगाएका छन् । उनले ट्रम्पले "राष्ट्रपति पदको चरम दुरुपयोग" गर्न खोजिरहेको टिप्पणी गरेका छन् । ट्रम्पले सङ्कटकाल घोषणा गरिहाले पनि त्यसलाई अदालतमा चुनौती दिइने र त्यो प्रभावकारी नहुने सङ्केतहरू देखिइसकेको बिश्लेषकहरुले बताएका छन् । बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्