अब सिन्धुपाल्चोकमै स्नातकोत्तर पढाइ



सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ। स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त्यस्ता विद्यार्थीका लागि सुविधा प्राप्त भएको छ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायमा सम्बन्धन प्राप्त भएपछि मूल विषय अंग्रेजी र नेपालीमा कक्षा सञ्चालन हुनेछ। स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने ७७ जनाले फर्म भरेर ७१ जना प्रवेश परीक्षामा समेत उत्तीर्ण भएका छन्। उनीहरूमध्ये प्रायःजसो गृहिणी छन् भने केही कर्मचारीसमेत छन्। कक्षा सञ्चालनका लागि सुविधासम्पन्न भवनको व्यवस्था छ।

हाल जनशक्ति र आर्थिक स्थिति केही कमी भए पनि त्यसलाई समाधन गर्दै लगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णराज श्रेष्ठले बताए। विसं २०५८ मा सम्बन्धनप्राप्त उक्त क्यामपसमा हाल स्नातक तहमा व्यवस्थापन, शिक्षा र विज्ञान संकायमा गरी ३५० छात्रछात्रा अध्ययन गरिरहेका प्राध्यापक यज्ञप्रसाद दंगालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्