दैलेखका युवा चढेको बसमा फर्किएका बर्दियाका ९ जनाको पहिचान, ३ गाउँ सिल



बर्दियाः कोरोना भाइरस संक्रमण पुष्टि भएका दैलेख आठबीस नगरपालिका १ सात्तलाका युवालाई दैलेख सात्तला पुर्याएर फर्केको बसमा बर्दिया ठाकुरबाबा नगरपालिकाका ९ जना फर्किएको बताइएको छ ।

उनीहरु सबैको पहिचान भइसकेको छ । उनीहरु सबै ठाकुरबाबा नगरपालिका वडा नं.२, ३ र ५ का बासिन्दा हुन् । ठाकुरबाबा नगरपालिका वडा न.२ कर्मलाका ७ जना, वडा नं.३ नेउलापुरका एक जना र वडा नं.५ बनबिरपुरका १ जना रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

ठाकुरबाबा विपद व्यवस्थापन समिति अन्तर्गत संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार अहिले उनीहरुको घर रहेको कर्मला गाउँ, नेउलापुर गाउँको उत्तरजब्दा र बनबिरपुर गाउँमा आवत जावत निषेध गरिएको छ ।

दैलेखबाट घर फर्किएका सबैलाई सेल्फ क्वरेन्टाइनमा बस्न लगाइएको छ । घरका सदस्यहरुलाई पनि सर्तकता अपनाउन भनिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए । पीसीआर परीक्षणका लागि ९ जनाको स्वाब संकलन गर्न स्वास्थ्य कार्यालय गुलरियामा अनुरोध गरिएको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र राजवंशीले बताए ।

दैलेखका ३९ जना युवा भारतको आगरा कञ्चनपुर बनबासा नाका हुँदै आएका थिए । सीमा नाकामा अलपत्र परेपछि दैलेखको आठबीस नगरपालिकाले उनीहरुलाई जेठ १ गते उद्धार गरी दैलेखको सात्तला पुर्याएको थियो ।

दैलेख सात्तला पुर्याएर फर्कन लागेको बसमा बर्दिया ठाकुरबाबाका ९ जना घर आएका थिए । यतिबेला नगरपालिकामा पनि उच्च सर्तकता अपनाइएको छ ।

संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय भुरिगाउँले संक्रमण फैलिन नदिन अर्को सूचना नआउँदासम्मका लागि कर्मला, बनबिरपुर र नेउलापुर उत्तर जब्दा गाउँ टोल सिल भएको सम्बन्धमा ‘माइकिङ’ गर्दै सूचना प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्