प्रदेश दुईमा छ संसदीय समितिको नेतृत्व निर्विरोध 



जनकपुरधाम: प्रदेश नं. २ प्रदेशसभा कार्यसंचालनका लागि बनेका विषयगत समितिमध्ये ६ वटा समिति सभापतिहरु निर्विरोध चयन भएका छन् । सार्वजनिक लेखा समितिमा नेकपाका दुई जनाले उम्मेदवारी दिएपछि निर्वाचनमा जाने वा सहमति गर्ने भन्नेबारे समितिले निर्णय गर्नेछ ।

राजनीतिक सहमतिका आधारमा भागबण्डा गरिएको ७ समितिमध्ये संघीय समाजवादी फोरम नेपाल २, राष्ट्रिय जनता पार्टी नेपाल २, नेपाल कम्युनिष्ट पार्टी २ र नेपाली कांग्रेसले एक समितिको नेतृत्व पाएकाछन् । नेकपाका भरत साह र शत्रोधन महतोले सार्वजनिक लेखा समितिमा उम्मेदवारी दिएपछि पार्टीभित्र समेत विवाद उत्पन्न भएको छ ।

साह तात्कालिन माओवादीका हुन भने  महतो तत्कालिन एमालेका हुन् । निर्विरोध निर्वाचित हुनेमा अर्थ योजनामा राजपाका मनिष सुमन, विकास समितिमा फोरमका अब्दूल कयुम, महिला बालबालिका न्याय समितिमा राजपाका जयनूल राइन, प्राकृतिक श्रोत तथा वातावरणमा नेकपाका रामचन्द्र मण्डल, कृषि तथा भूमि व्यवस्थामा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह, प्रदेश मामिलामा फोरमका अशोककुमार यादव छन् ।

सार्वजनिक लेखा समितिको नेतृत्व टुंगो लागेपछि निर्विरोध निर्वाचित हुनेहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गरिने प्रदेशसभाका सूचना अधिकारी रंजित यादवले बताए।

प्रतिक्रिया दिनुहोस्