गोवा घुम्न आफ्नै अपहरणको नाटक, तीनजना पक्राउ



जनकपुर : भारतको गोवा घुम्नका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवा प्रहरीको फन्दामा परेका छन् ।

जनकपुरधाम उपमहामनगरपालिका वडा नं. १७ बेलौनी निवासी राजकुमार साहका छोरा अजयकुमार साहले भारतको गोवा घुम्न पैसाका लागि साथीहरुसँग योजना बनाई अपहरणको नाटक गरेर आफ्नै परिवारबाट फिरौती रकम मागेको आरोपमा पक्राउ परेका हुन् ।

अपहरणको नाटक गर्ने अजय र उनलाई सो कार्यमा सघाउने दुई साथी जनकपुर उपमहानगरपालिका २३ का समसाद नादाफ र रौतहट जिल्ला गढीमाई नगरपालिका निवासी अरविन्द यादवलाई पक्राउ गरिएको हो । दुवै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

समसादलाई जनकपुरबाटै पक्राउ गरिएको छ भने अरविन्दलाई बर्दिबासबाट पक्राउ गरिएको हो । अपहरित भनिएका अजयलाई काठमाडौंबाट जनकपुर बोलाएर पक्राउ गरिएको  धनुषाका प्रहरी उपरीक्षक शेखर रेगमीले जानकारी दिए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले सार्वजनिक सुरक्षा ऐनअन्तर्गत मुद्दातर्फ अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यसरी पक्राउ परे अपहरणकारी    

गएको माघ १५ गतेका दिन २२ वर्षिय अजय आफ्ना साथीको जन्मदिन पार्टीमा जाँदैछु भनी भारतको गोवा घुम्न जाने योजनासहित घरबाट हिंडे । त्यसको २/३ दिनपछि ‘तिम्रो छोरा मेरो कब्जा छ’ भन्दै १५ लाख रुपैयाँ फिरौती मागसहित अजयको आमा रेखा साहलाई फोन आयो । अपहरणकारीहरुसँग बार्गेनिङ भएपछि अन्ततः पाँच लाख रुपैयाँमा फिरौती तिर्ने सहमति भयो  ।

अपहरणकारीहरुसँग सहमति पश्चात् अजयकी आमाले प्रहरीमा माघ २६ गते आफ्नो छोराको अपहरण भएको र पाँच लाख रुपैयाँ फिरौती माग गरिरहेको निवेदन दिइन् ।

प्रहरीले मोबाइल कलको आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा समसादलाई जनकपुरबाट र अरविन्दलाई बर्दिबासबाट पक्राउ गरियो । पक्राउ पश्चात् दुवैले  आफूहरु अजयको साथी हो र भारतको गोवा घुम्न जान पैसा जुटाउनका लागि अजयकै योजनाअनुसार अपहरणको नाटक गरिएको खुलासा गरे ।

त्यसपछि प्रहरीले काठमाडौंमा बसिरहेका अजयलाई फिरौती रकम प्राप्त भयो भनी पक्राउ परेका दुवै साथीले फोनबाट जानकारी गराएर जनकपुर बोलाएपछि उनलाई पनि पक्राउ गरियो ।

प्रहरी नियन्त्रणमा रहेका अजयले फिरौतीको रकमले मोटरसाइकल किन्ने र गोवा घुम्न जाने योजनासहित अपहरणको नाटक गरेको बताए । पक्राउ परेका तीनै जनाविरुद्ध हालसम्म प्रहरी रेकर्डमा कुनै अपराधिक घटना नदेखिए पनि उनीहरु कुलतमा लागेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौंमै भेटघाट भएपछि तीनै जनाले अपहरणको योजना बनाएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्