भ्रष्टाचारी जोसुकै भए पनि छुट हुन्न : बाँस्कोटा



बनेपा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन ।

बनेपा नगरपालिका वडा नम्बर–११ को कार्यालय भवन उद्घाटन  गर्दै उनले भने,‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’

भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको उनले बताए । मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउँदा बढ्ने हैन, न्युनीकरण हुँदै जान्छ, भ्रष्टाचारीलाई सजाय गर्दा भ्रष्टाचार न्युन हुँदै जान्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोपमा नछाडिएको र अन्यका हकमा पनि शंका गर्नु नपर्ने उनले बताए । एक अर्को प्रसंगमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र संघीयता कार्यान्वयनसँगै अर्को वर्ष उद्घाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना शुरु भइसकेको जानकारी दिए ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको बताउँदै उनले भने, ‘नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौं, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौं।’

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईँ, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका वाचा पूरा गर्न जनताको मालिक भएर हैन, सेवक भएर काम गर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्