दुईजना प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटी सिल



काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले वृत्त नै सिल गरेको छ ।

संक्रमितहरुको सम्पर्कमा आएका प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने भएकाले सिल गरिएको वृत्तले जनाएको छ । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले पुष्टि गरेका छन् ।

संक्रमित दुवै लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए ।

उनीसँग सम्पर्कमा आएका दुई सय जना प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिने जनाइएको छ । उनीहरुको सम्पर्कमा आएका सबै प्रहरीको आज (बुधबार) स्वाबको नमुना संकलन गर्न लागिएको छ ।

कोरोना संक्रमण फैलिने खतरा बढेसँगै वृत्तमा हरेको महिला सेल, ट्राफिक कार्यालय समेत समेत सिल गरिएको उनले बताए ।

कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए । अब उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गरिने प्रहरीले जनाएको छ ।

वृत्त पूरै सिल गरिएपछि अहिले कालिमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौं परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौं परिसरले गर्न लागेको हो ।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो । त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा समेत गत शनिवार संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्