वीरगञ्जमा गायत्री अश्वमेध महायज्ञ हुने



वीरगञ्ज : नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ यही फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ ।

त्यसका लागि महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा. राजु अधिकारीले बताए ।

‘शतपथ ब्राह्मण’ नामक ग्रन्थमा परिस्थिति र मनस्थितिलाई परिष्कृत गर्न अश्वमेध महायज्ञ गरिने उल्लेख छ ।

समितिका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशवासीलाई साहस तथा बल वृद्धि गरी राष्ट्रलाई समर्थ बनाउन महायज्ञ गर्न लागिएको जानकारी दिए । महायज्ञमा माटोको घोडा बनाएर सजाएर राखिने उनले सुनाए ।

वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महायज्ञमा पाँच लाख पर्यटक आउने अनुमान गरी तयारी भइरहेको बताए । महायज्ञमा आउन अनलाइनका माध्यमबाट ५६ हजार ४४४ जनाले नाम लेखाइसकेको जानकारी पनि उनले दिए ।

महायज्ञमा आउने ४० देशका पर्यटकलाई होटल, लज, धर्मशाला, टेण्टसहित वीरगञ्जवासीका घर घरमा राख्ने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आयोजक समितिका सहसंयोजक डा अधिकारीले नेपालमा आयोजना गरिएको यस्तो महायज्ञ पहिलो भए पनि आधुनिक कालको ४५औं महायज्ञले नेपालीलाई अश्वशक्ति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय गाईको घिउबाट गरिने यज्ञधुम्रलाई सेवन गरी धेरै रोगबाट मुक्तिका लागि यज्ञचिकित्साको प्रयोग गरिने उनले बताए । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले इन्टरनेट र फेसबुकका कारण मानवीयता र अध्यात्म हराउन थालेकामा महायज्ञले पुनःस्थापना गर्न सहयोग गर्ने आशा गरिएको बताए ।

महायज्ञमा एकैपटक हजारौं ब्राह्मणले अनुष्ठान गर्ने जनाइएको छ । कार्यक्रममा सहभागिताका लागि जात तथा लिंगका आधारमा विभेद गरिने छैन । 

प्रतिक्रिया दिनुहोस्