नेपालका आयुष र प्रितम सारेगमपा लिटिल च्याम्प शीर्ष १५ मा



काठमाडौं : भारतको चर्चित टेलिभिजन सो सारेगमपा लिटिल च्याम्पमा नेपालका १२ वर्षीय आयुष केसी शीर्ष १५ मा पर्न सफल भएका छन् । सिन्धुपाल्चोक घर भएका उनी हाल उनी भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ का विद्यार्थी हुन् । आयुष पूरा भारत र नेपालसहित विश्वभरि नै चर्चामा छन् । अहिले जी टिभीले रिलिज गरेको आयुषको प्रोमोसहितको भिडियो सामाजिक सञ्जाल र डिजिटल मिडियामा भाइरल भएको छ ।

 

उनी नेपालमा दुई वर्षअगाडि प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’ मा प्रथम भएका थिए । उनले संगीत सिक्न थालेको पाँच वर्ष भयो । आयुषले सुरशाला म्युजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसँग संगीतको प्रशिक्षण लिइरहेका छन् ।

 

सारेगमपामा रियालिटी कार्यक्रममा अर्का नेपाली बाल प्रतिभा प्रितम आचार्य पनि शीर्ष १५ मा छनोट भएका छन् । सारेगमपाले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक क्षेत्रीका अनुसार तीनवटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टु’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।

 

‘लेभल टु’ मा छानिएका आयुष र प्रितम स्टुडियो राउन्डका लागि मुम्बई गएका थिए । त्यसपछि ‘कलिङ राउन्ड’ र ‘मेगा अडिसन’ मा छानिएर उत्कृष्ट ३० मा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्