प्रदेशसभा २ लेखा समिति सभापति विवाद : फेरि मनोनयन दर्ता गरिने 



जनकपुरधाम : प्रदेश नं. २ प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापति निर्वाचनमा समस्या भएको छ । नेकपाकै दुई सांसदले मनोनयन दर्ता गराएको अवस्थामा दुवैजनाको मनोनयन फिर्ता भएको छ । समितिको शुक्रबार बसेको बैठकले फेरि उम्मेदवारी दर्ता प्रक्रिया थाल्ने निर्णय गरेको छ ।

समितिको अर्को बैठकबाट नयाँ उम्मेदवार वा मनोनयन दर्ता गराउने दुईमध्ये एउटालाई उम्मेदवार बनाउने निर्णय गरिने समितिका सदस्य रामकुमार यादवले जानकारी दिए ।

लेखा समितिको सभापतिका लागि नेकपाका तर्फबाट भरत साहले उम्मेदवारी दिएका थिए । पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दिएका थिए । यसैगरी नेकपाकै सांसद शत्रुघ्न महतोले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका थिए । 

बिहीबार अबेरसम्म दुवै उम्मेदवारका प्रस्तावक तथा समर्थक नहुँदा उम्मेदवारी नै दर्ता भएको थिएन । पछि साहलाई पार्टीले प्रस्तावक र समर्थकको व्यवस्था गरिदियो भने महतोलाई फोरमले सघाएको थियो ।

साहको प्रस्तावकमा लगनलाल चौधरी र समर्थक रामकुमार यादव र महतोको फोरमबाट प्रस्तावक पारसप्रसाद साह र समर्थक नरेशकुमार यादव बनेपछि उम्मेदवारी दर्ता भएको थियो । तर रामकुमारले समर्थकका रुपमा आफूले हस्ताक्षर गरेको अस्वीकार गरेपछि साहको मनोनयनमा रीत नपुगेको देखिएको थियो । महतोले पार्टीले मनोनयन फिर्ता लिन भनेपछि आफूले पनि फिर्ता लिएको बताए । 

यसअघि विवाद समाधान गर्न पुगेका सभामुख सरोजकुमार यादवसँग दुवै समूहको चर्काचर्कीपछि बिहीबार निर्धारित समय ५ बजेपछि मात्रै उनीहरुको मनोनयन दर्ता भएको थियो । सभामुखमाथि झन्डै हात हालाहालको अवस्था उत्पन्न भइसकेको थियो । लेखा समितिमा १३ सदस्य छन् । तीमध्ये नेकपाका ४, फोरमका ३, राजपाका ३ र कांग्रेसका ३ जना सदस्य छन् ।

 

यसअघि राजनीतिक बाँडफाटका आधारमा प्रदेशसभाका सात समितिमध्ये ६ वटामा निर्विरोध रुपमा सभापति चयन भइसकेको छ । सहमतिअनुसार राजपाले अर्थ र योजना मामिला तथा महिला, बालबालिका र न्याय समिति पाएको छ । फोरमले प्रदेश मामिला र विकास समिति पायो भने कांग्रेसले कृषि तथा भूमि व्यवस्था समितिमा सभापति पाएको छ । सहमतिपछि यी समितिमा निर्विरोध सभापति छानिए ।

 

नेकपाले प्राकृतिक स्रोत तथा वातावरण समिति र लेखा समिति पाएको थियो । प्राकृतिक स्रोत तथा वातावरण समितिमा निर्विरोध सभापति छानिएका छन् भने लेखा समितिमा पार्टीभित्रको आन्तरिक विवादका कारण सभापति चयन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्