
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेह्रथुम जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अलैंचीको विरुवा खरिद गरी कृषकहरुलाई वितरण गर्दा कमिशन दिने कृषकलाई वितरण गरेको र विरुवा खरिद तथा सवारी भाडामा समेत अनियमितता गरेको आरोपमा अख्तियारले शुक्रबार यादव समेतका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले यादवबाहेक तेह्रथुम जिल्ला कृषि विकास कार्यालयका प्रास हरिगोपाल आचार्य, लेखापाल डिल्लीप्रसाद आचार्य र नासु दुर्गाप्रसाद पौडेललाई मुद्दामा प्रतिवादी बनाएको छ । नासु पौडेलउपर पाँच लाख ४६ हजार २५० रुपैयाँ विगो र अन्य तीनै जनाउपर जनही १० लाख ८६ हजार ७२५ रुपैयाँ विगो मागदावी लिइएको अख्तियारक प्रवक्ता रामेश्वर दंगालले जनाए ।