कोरोनाका कारण ज्यान गुमाउनेको शव व्यवस्थापनमा किन समस्या ?



काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण ज्यान गुमाउनेको शव व्यवस्थापनमा समस्या देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ मा सावधानी अपनाउने भनिए पनि शव व्यवस्थापनबारे कुनै कुरा उल्लेख गरेको छैन ।

त्यही अन्योलको असर कोरोनाबाट ज्यान गुमाएका दुई जनाको शव व्यवस्थापनमा देखिएको थियो ।

जेठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलामा कोरोनाका कारण मृत्यु भएपछि उनको शव बोक्न कोही पनि तयार भएनन् । तर, भक्तपुरका स्वयंसेवक युवा ३ गते राति गाडी लिएर अस्पताल पुगे ।

उनीहरुकै गाडीमा शव अन्त्येष्टिस्थलसम्म लगियो ।

संक्रमण भएर ज्यान गुमाउनेको शव कसले व्यवस्थापन गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । यही कारण आफूहरु अन्योलमा परेको र सुत्केरी महिलाको अन्त्येष्टिमा ढिलाइ भएको काभ्रेका प्रमुख जिल्ला अधिकारीले स्वीकार गरेका छन् ।

यस्तै बाँके नरैनापुरमा आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका युवकको शव बोक्न कोहि तयार नभएपछि राति डोजरबाट अन्त्येष्टि गर्ने स्थानसम्म लगिएको थियो ।

डोजरको पछिपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पीपीई लगाएर पुगे । तर, शव खाल्डोमा पुर्ने काम समेत डोजरले नै गरेको थियो ।

सुरक्षा निकायले स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीले सुरक्षाकर्मीको मुख ताक्ने प्रवृत्तिको असर कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनमा देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कार्यविधिमा संक्रमितको शव सावधानीका साथ व्यवस्थापन गर्ने उल्लेख छ ।

शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीले सुरक्षा सामग्री पन्जा, चस्मा, टोपी, मास्क र पीपीइ प्रयोग गर्नुपर्ने, अन्तिम संस्कारमा सहभागी हुने सबैले पीपीइ लगाउनुपर्ने, शव सदगदको क्रममा सावधानी अपनाउनुपर्ने, मृतकको आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मटिर टाढाबाट पालैपालो एक एकजनाले शव हेर्न पाउने कार्यविधिमा उल्लेख छ ।

तर, व्यवस्थापन कसले गर्ने भन्ने अन्योल चिर्न कार्यविधि संशोधन गरिने मन्त्रालयले जनाएको छ । एक त संक्रमणका कारण आफन्त गुमाउँदाको पीडा, अर्को एकले अर्काको मुख ताक्ने प्रवृत्तिले अन्त्येष्टिमा ढिलाइले पीडित परिवारले झनै पीडा सहनुपरेको छ ।

यस्तो छ कार्यविधिः

प्रतिक्रिया दिनुहोस्