महोत्तरीका अवैध क्रसर बन्द गराउन तात्याे जिसस



ढल्केवर : महोत्तरी जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गराउन थालिएको छ । जिल्ला समन्वय समितिको टोलीले शुक्रबार ५ वटा क्रसर व्यवसायीलाई उद्योग बन्द गर्न पत्र थमाएको छ । जिल्लाको भङ्गहा नगरपालिका वडा नं. ४ बिर्तामा सञ्चालित महोत्तरी गोल्ड प्रालि र पञ्चधुरा वासिङ सेन्टरलगायतका सञ्चालक व्यवसायीलाई उद्योग बन्द गर्न पत्र दिइएको छ ।

८ वटा क्रसर उद्योगमा अनुगमन गर्दा ५ वटा क्रसर उद्योग अवैध पाइएकोले बन्द गर्न पत्र दिएको टोलीको नेतृत्व गरिरहेका जिल्ला समन्वय समिति अधिकृत सुदिपकुमार झाले बताए । उनले रमण कन्स्ट्रक्सनका उद्योगी र अन्य दुईलाई तीन दिनभित्र उद्योग सञ्चालनको अनुमतिपत्र र अन्य कागजातसहित उपस्थित हुन निर्देशन दिएको जानकारी दिए ।

झाले तत्काल कागजात देखाउन नसकेकाले उद्योग बन्द गर्न र भए आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको बताए । टोलीमा  जिल्ला प्रशासन कार्यालयका नासु भरतप्रसाद यादव र नापी कार्यालयका कर्मचारी राजु सुवेदी सहभागी थिए ।

‘अवैध क्रसर उद्योग पूर्णरुपले बन्द गर्छौं । यो अभियान निरन्तर चल्छ ।  कुनै पनि अवैध उत्खनन हुन दिँदैनौं’, उनले भने । यसका लागि आम जनता र प्रशासनको सहयोग आवश्यक रहेको उनले बताए ।

क्रसर उद्योगका कारण अवैध नदी उत्खनन बढेको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समितिले सबै अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । स्थलगत अनुगमन गर्दा जिल्लामा नदीजन्य पदार्थको दोहन तथा अवैध उत्खनन भइरहेको भेटिएपछि यस्तो निर्णय भएको हो ।

अनुगमन समितिको बैठकले क्रसर उद्योग र स्थानीय तहलाई २०७५÷७६ मा नदीजन्य पदार्थको ठेक्का तथा राजस्व असुली प्रक्रिया र क्रसर उद्योगलाई दर्ता, नवीकरणलगायतका सम्पूर्ण विवरण ७ दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । तर कुनै पनि स्थानीय तह र उद्योगीले पत्रको जवाफ नदिएकाले उद्योगहरु बन्द गराउने निर्णयअनुसार बन्द गराएको अधिकृत झाले जानकारी दिए ।

जिल्ला समन्वय समितिको तथ्यांकले जिल्लामा जम्मा ६ क्रसर उद्योग सञ्चालनमा रहेको देखाउँछ । तर जिल्लामा ५० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्