विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा शुक्रबार दिउँसो एक महिलाको शव फेला परेको छ ।
पहाडे समुदायको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षिय महिलाको सनाखत भने हुनसकेको छैन । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिव आठसय मिटर उत्तरको जंगलमा शव फेला परेको हो ।
पानी पर्दा पहिरो गएर भास्सिएको ठाउँमा शव भेटिएका कारण अनुसन्धान सुरु गरिएको बजगाईले बताए । उनका अनुसार दिउँसो घाँस दाउरा गर्न गएका स्थानीय बासिन्दाले महिलाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
शव उठाउँदा किटनाषक विषादीको गन्ध आए पनि घटनास्थलमा कुनै विषादीका बट्टाहरु फेला नपरेको प्रहरीले जनाएको छ । विषादी सेवन गराएर महिलाको हत्या गरिएको हुनसक्ने आशंका प्रहरीको छ । महिलाको शरीरमा कुनै चोटपटक नभेटिएको जनाइएको छ ।
‘बाहिर हेर्दा शरीरका कुनै पनि अंगमा चोटपटक देखिदैन,’ प्रनि बजगाईले भने, ‘ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन ।’
उनको शरीरबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट फेला परेको छ । बसको अल्फाबेट भने टिकटमा नखुलाइएको प्रहरीले जनाएको छ । टिकटमा नाम नलेखेको र काठमाडौं मात्रै लेखेका कारण नाम र ठेगाना पनि स्पष्ट हुन नसकेको जनाइएको छ ।
शवलाई पोष्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको र पोस्टमार्टमपछि सबै कुरा खुल्ने जानकारी बजगाईले दिए ।