आफ्नै बायोपिक निर्देशन गर्दै कंगना



एजेन्सी : कंगना रनावत आफ्नो फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’ मा गरेको कामका कारणले चर्चामा छिन् । कंगनाले ‘मणिकर्णिका द क्विन अफ झाँसी’ मा अभिनयका साथसाथ पहिलो चोटि निर्देशन पनि गरेकी छिन् । 

कंगना अब अर्को फिल्म निर्देशन गर्ने तयारीमा छिन् । मणिकर्णिका सुरुदेखि नै उनको निर्देशनमा बन्नेवाला थिएन । निर्देशक कृषसँग विवाद भएपछि उनले बीचैमा काम छाडेका थिए । कृषले छाडेपछि कंगनाले निर्देशनको डोरी आफैं थामेकी थिइन् ।

अब उनले अभिनय गर्ने फिल्म उनको आफ्नै जीवनीमा आधारित हुनेछ,  जसलाई उनी आफैंले निर्देशन गर्दैछिन् । अब उनले आफ्नै बायोपिक निर्देशन गर्ने भएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार कंगना आफ्नो जीवनलाई फिल्मका माध्यमबाट देखाउन चाहन्छिन् । उनको बायोपिकको स्क्रिप्ट ‘बाहुबली’ का लेखक केवी विजेन्द्र प्रसादले लेख्नेछन् । समाचारका अनुसार यो फिल्मको काम कंगनाका आगामी फिल्म ‘पंगा र मेंटल है क्या’ पछि सुरु हुनेछ ।

कंगनाको बायोपिक भन्नेबित्तिकै धेरै प्रश्न उठ्न थालेका छन् । उनको जीवनका पछिल्ला केही विवादित घटना ताजै छन् । नायक ऋतिक रोशनदेखि करण जौहरसम्म उनको बायोपिकका पात्र बन्नेछन् । यी कलाकारबीच भएको विवाद अझै पूर्ण रूपमा शान्त भइसकेको छैन ।

यसमा कंगनाले भनिन्, ‘यो सही हो, मेरो अर्को निर्देशन मेरो आफ्नै बायोपिक हुनेछ । तर फिल्ममा कुनै पनि पात्रको नकारात्मक वा सकारात्मक छवि देखाएर सफाइ दिने वा दोषी देखाउने मेरो नियत छैन । यो फिल्ममा मेरो मनको नजिक भएका यात्रा देखाइनेछ । मेरा वरपर मलाई माया गर्ने धेरै मान्छे छन् । यो फिल्मले मेरो जीवनको उतारचढावलाई देखाउँछ ।’

कंगना र ऋतिकबीच लाामो समयदेखि द्वन्द्व चलिरहेको छ । कंगनाले ऋतिकमाथि विवाह गर्ने वाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको जस्तो गम्भीर आरोप लगाएकी थिइन् । यसलाई ऋतिकले नकारेपछि उनीहरूको विवाद यति चर्कियो कि बलिउडमा कंगना र ऋतिकका अलगअलग पक्षधर निस्किए । यो मामिला अझैसम्म पनि सेलाउन सकेको छैन ।

कंगनाले पछिल्लो समय बलिउडका थुप्रै कुरा खुलासा गर्दै आएकी छिन् । केहीले उनलाई ‘आँटिली’ भन्दै समर्थन गरिरहेका छन् भने केहीले उनले बेकारमा ‘बकबक’ गरेको आरोप पनि लगाएका छन् । कंगना आफैंले निर्देशन गरेको आफ्नै बायोपिकमा केकति कुरा देखिनेछ, त्यो त फिल्म रिलिजपछि नै थाहा पाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्