संघीय सरकारको असहयोगले काम गर्न सकिएन : मुख्यमन्त्री



जनकपुरधाम : प्रदेश २ को सरकारले एक वर्षको कार्यकाल सफल रहेको तर संघीय सरकारको असहयोग र स्थानीय सरकारको समन्वय अभावले प्रभावकारी र उपलब्धिमूलक कार्य गर्न नसकेको दाबी गरेको छ । 

प्रदेश सरकारले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको एक वर्षको कार्यकाल सफल रहेको दाबी गरे । ‘संविधानबमोजिम संघीय सरकारले अधिकार प्रत्यायोजन गरेको भए र स्थानीय सरकारसँग समन्वय भएको भए अझ प्रभावकारी र उपलब्धिमूलक कार्य गर्न सकिन्थ्यो’, उनले भने ।

एक वर्षको कार्यकालमा आधा समय संरचना तयार र व्यवस्थापनमै बितेको बताउँदै उनले थपे, ‘बाँकी समयमा प्रदेश सरकारले गर्न चाहेको कार्यमा पनि संघीय सरकारले हस्तेक्षकारी भूमिका खेलेका कारण जनतालाई अनुभूति हुने खालको काम गर्न सकेनौं ।’

मुख्यमन्त्री राउतले एक वर्षभित्रमा १६ वटा कानुन निर्माण गरेको, केही कानुन निर्माण प्रक्रियामा रहेको जानकारी दिए । यस्तैसामाजिक रुपान्तरणका लागि बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम, दलित छात्रवृत्ति योजना, महिलालाई ५० प्रतिशत आरक्षणसहितको व्यवस्था, मोबाइल स्वास्थ्य क्लिनिक, जेष्ठ नागरिक आवास निर्माण र विभिन्न सहिदको स्तम्भ निर्माणका कार्य सुरु गरेको उनले बताए ।

त्यसैगरी सहिद परिवार रोजगार योजना कार्यान्वयन, घाइतेलाई सम्मान कार्यक्रम कार्यान्वयन, प्रदेशका ८ वटै जिल्लामा शीतभण्डार निर्माण प्रक्रिया सुरु, जानकी मन्दिरको सौन्दर्यीकरण प्रारम्भ, खेतखेतमा पानी हातहातमा काम अभियान सुरु, वृक्षरोपण, ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट निर्माण अघि बढाउनुका साथै सिँचाइका लागि डिप ट्युबवेल प्रारम्भलगायतका विकासका कार्यसमेत अघि बढाइएको बताए ।

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको सफल भ्रमणको सन्दर्भ जोड्दै प्रदेशको आर्थिक समृद्धिका लागि वार्षिक नीति तथा कार्यक्रमले दिशाबोध गरेअनुसार लगानीमैत्री ऐन बनाउने कार्यसमेत अघि बढाएको जानकारी दिए ।

प्रदेश सरकारले आगामी दिनमा प्रभावकारी र उपलब्धिमूलक कार्यका लागि संघीय र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे । मुख्यमन्त्री राउतले जनमुखी शासन पद्धति बनाउन आर्थिक क्षेत्रमा धेरै नै सुधार आवश्यक रहेको उल्लेख गर्दै आर्थिक अनुशासन प्रभावकारी बनाउन जेठ मसान्तपछि विकास योजनामा भुक्तानी नहुने सरकारको नीति रहेको जानकारीसमेत दिए । कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्