सुदूरपश्चिममा प्रदेशस्तरीय खेलकुद सुरु



कैलाली : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ आजदेखि सुरु भएको छ । सुदूरपश्चिम खेलकुद विकास समिति क्षेत्रीय रंगशाला धनगढीमा शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घाटन गरे ।

 

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडि बढाउन लागिपरेको बताए । उनले खेल र खेलाडीका आवश्यकता, समस्या समाधानका साथै  खेल मैदान र सामग्रीको अभाव पूरा गर्न प्रदेश सरकारले चासो दिइरहेको दाबी गरे । सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका संयोजक लालबहादुर शाहीले प्रतियोगिता २८ गतेसम्म चल्ने जानकारी दिए । प्रदेश स्तरीय खेलबाट उत्कृष्ट खेलाडी राष्ट्रिय खेलका लागि छनोट हुने उनले जानकारी दिए । 

राष्ट्रिय खेल खेल्न राम्रा खेलाडी छनोट हुने क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र भट्टराईले बताए । जिल्ला स्तरबाट छनोट भएर प्रदेशस्तरीय खेलमा सहभागी खेलाडीलाई खाना, बस्न, यातायात सुविधा सरकारले व्यवस्था गरेको जानकारी कैलाली जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक सिंहले दिए । प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा समावेश २८ विधामा महिला र पुरुष खेलाडीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्