पिसाबलाई हिसाबमा परिणत गर्न तालिम



म्याग्दी : मङ्गला गाउँपालिकाले सुरु गरेको ‘पिसाबलाई हिसाबमा परिणत गरौं’ अभियानअन्तर्गत शुक्रबारदेखि वडा नं. ५ अर्मनमा तीनदिने तालिम सुरु भएको छ । अर्मनमा रहेको शिशु कल्याण माविका शिक्षक र विद्यार्थीलाई मानव मूत्र प्रयोग गरेर कसरी आय आर्जन गर्न सकिन्छ भन्ने सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

मंगला गाउँपालिकाले सञ्चालन गरेको यो अभियान निकै उपलब्धिपूर्ण रहेको र गाउँपालिकाभित्रका सबै विद्यालयमा मानव मूत्र संकलन तथा प्रयोग गर्ने तरिका सिकाइने उनले बताए । गाउँपालिकाले थालेको कृषि क्रान्ति अभियानअन्तर्गत अर्र्गानिक मल उद्योग नमुना उद्योगका रुपमा विकसित भएको छ ।

 

बनमा पाइने झारपात र खेर गएको जैविक फोहोर संकलन गरेर गाउँपालिकाले आफ्नै लगानीमा अर्गानिक  मल उद्योग सञ्चालनसमेत गरेको छ । सो उद्योग अवलोकन गर्न नेपालका विभिन्न ठाउँबाट कृषि प्राविधिक, जनप्रतिनिधि र कृषक आउने गरेको गाउँ कार्यपालिकाका सदस्य रत्नबहादुर विकले जानकारी दिए ।

विद्यालयका शौचालयमा खेर जाने मानव मूत्र फलफूल तथा तरकारी खेतीमा प्रयोग गर्ने हो भने उत्पादनमा तेब्बर वृद्धि हुनेहुँदा त्यसलाई खेर जान नदिई संकलन गरेर बिक्री गर्न सकिनेहुँदा यो अभियान सञ्चालन गरिएको अध्यक्ष रोकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्