आज र भाेलि देशभर माैसम बदली, ठाउँठाउँमा हिमपात पनि हुन सक्ने



काठमाडौँ : पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली हुनाका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको नयाँ प्रणालीको विकासले फेरि देशभरिको मौसम प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए ।

 

ठूलो वर्षाको सम्भावना नरहे पनि अधिकांश भूभागमा छिटफुट र मध्यम खालको वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । शनिबार बेलुकादेखि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएकाे छ । 

राति देशभर मौसम बदली हुनाका साथै पश्चिमी भू भागका अधिकांश स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

त्यस्तै शनिबार देशका अधिकांश भूभागमा सामान्यतया मौसम बदली रही पश्चिमी भेग र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनएको छ ।

 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम तापक्रम १९ दशमलव ६ डिग्री र न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै धनकुटाको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ दशमलव ५ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्