जसोतसो घिस्रिँदै छन् साना दल



काठमाडाैं : गत वर्षको चुनावअघि निर्वाचन आयोगमा १ सय २५ दल दर्ता भए । तर, तीन प्रतिशत थ्रेसहोल्ड राखिएपछि चारवटाले मात्र राष्ट्रिय दलको मान्यता पाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले मात्र थ्रेसहोल्ड कटाए । नेकपा मसाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, विवेकशील नेपाली दल, साझा पार्टीका सांसद स्वतन्त्र हैसियतमा छन्।

थ्रेसहोल्डको व्यवस्थापछि दुई पार्टी प्रणाली देखिन सक्ने अनुमान कतिपयले गरिरहेका छन् । तर, अझै अनेकौँ साना पार्टी अस्तित्वमा छन् । पार्टी खुल्ने क्रम पनि रोकिएको छैन । ठुल्ठूला लक्ष्य लिएका तिनको गति भने अत्यन्त सुस्त रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

महाधिवेशनको चटारोमा मसाल 

यो पार्टी ०४२ सालदेखि नै मोहनविक्रम सिंहको नेतृत्वमा छ । कुनै निर्वाचन बहिष्कार त कुनैमा भाग लिँदै आएको यो पार्टीले नामसमेत फेर्दै आएको छ । अहिले यो पार्टी आठौँ महाधिवेशनको तयारीमा लागेको छ।

पार्टीको संगठन सुदृढीकरण, प्रशिक्षण, भेलालगायतका गतिविधि भइरहेको नेता समीर सिंहले बताए । पार्टीमा चीन, भारतजस्ता उदाउँदा शक्तिलाई साम्राज्यवादी भन्ने कि नभन्ने, पार्टीको आगामी कार्यदिशा के हुने भन्नेमा छलफल चलिरहेको उनको भनाइ छ ।

नेमकिपाले बिजुक्छेको उत्तराधिकारी पाउला?

०१४ सालदेखि नेपाल कम्युनिस्ट पार्टीका सदस्य भएका नारायणमान बिजुक्छे ०३१ सालमा नेपाल मजदुर किसान संगठन खुलेदेखि नै नेतृत्वमा छन्।

२०४७ सालमा यसलाई पार्टीको स्वरूप दिइयो । निरन्तर संसदीय निर्वाचनमा भाग लिए पनि सधैँ प्रतिपक्षको भूमिकामा यो पार्टी देखिन्छ।

आगामी चैत १ गतेदेखि हुने सातौँ महाधिवेशनका लागि पार्टी सदस्यता नवीकरण, संगठन सुदृढीकरण, जनपरिचालनबारे छलफल भइरहेको नेता प्रेम सुवालले बताए । गत निर्वाचनमा उम्मेदवारी नदिएका बिजुक्छेले नेतृत्व छाड्न सक्ने अनुमान गरिँदै छ।

संगठन सुदृढ बनाउँदै माले 

२०५४ साल फागुन २१ गते वामदेव गौतमले एमाले पार्टी फुटाएर नेकपा माले गठन गरे । २०५६ सालको निर्वाचनमा शून्य भएपछि पुनः २०५८ सालमा गौतमसहितका नेता पुरानै पार्टी फर्किए । तर, सिपी मैनालीको नेतृत्वमा केही नेताले अलग्गै पार्टी घोषणा गरे।

यो पार्टी अहिले संगठन सुदृढीकरणमा लागेको महासचिव मैनालीले बताए । ‘निर्वाचनलगायत विभिन्न कारणले पार्टी छाडेका नेताको ठाउँमा नयाँ नेता नियुक्त गर्दै छौँ,’ उनले भने । मुद्दा मिल्ने पार्टीसँग कार्यगत एकता गर्दै अगाडि बढ्ने मैनालीले बताए।

विभाजित चार माओवादीको आ–आफ्नै ताल 

नेकपा क्रान्तिकारी माओवादी, पुनर्गठित माओवादी केन्द्र, नेकपा विप्लव समूह र आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालजस्ता माओवादी फुटेर बनेका पार्टीहरूको राजनीतिक उपस्थिति कमजोर देखिन्छ।

उनीहरूको लक्ष्य र कार्यदिशा पनि स्पष्ट छैन । विप्लव समूह भूमिगत छ । गोपाल किराती नेतृत्वको नेकपा माओवादी पनि सांगठनिक रूपमा कमजोर छ ।

तीन वैकल्पिक पार्टीको अलमल 

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, रवीन्द्र मिश्र नेतृत्वको विवेशील साझा र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलले आफूलाई वैकल्पिक शक्ति दाबी गर्छन् ।

कुनै वादमा विश्वास नगर्ने भिन्न पार्टी तयार गर्दै गरेको उनीहरूको भनाइ छ । तर, तीनै दलले आफूलाई सांगठनिक वा वैचारिक रूपमा स्थापित गर्न भने सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्