२६ वर्षमा ४५ हजार एनजीओ अनुगमन गर्ने समाजकल्याण पर्‍यो थला



काठमाडौं : मुलुकमा गैरसरकारी संस्था  (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ। सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक सेवाभन्दा पनि नाफा कमाउने माध्यम बनाएका छन्।

राजधानी दैनिकमा समाचार छ, एनजीओको विकृति यति धेरै बढेको छ कि कैयौँ एनजीओमा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका रूपमा एकै व्यक्ति १५ वर्षदेखि लगातार कार्यरत रहेको समाजकल्याण परिषद् स्रोतले जानकारी दिएको छ।

कैयौँ  एनजीओले नियमित रूपमा लेखा परीक्षणसमेत नगरेको र अपारदर्शी किसिमले खर्च गर्ने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। ‘केही अपवादलाई छोडेर धेरै एनजीओ व्यक्ति विशेषका नाफा कमाउने माध्यम बनेका छन्,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

उनले मुलुक एनजीओको जालोमा घेरिनु दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे।

समाजकल्याण परिषद्का अनुसार विगत २६ वर्षको अवधिमा मात्रै मुलुकमा ४५ हजार एनजीओ थपिएका छन्। त्यसरी थपिएका एनजीओले आफ्नो लक्ष्यअनुसार काम गरे नगरेको बारेमा भने सरकारी निकायले कुनै अनुगमन गर्न सकेका छैनन्।

एनजीओको अनुगमन शून्य अवस्थामा रहेको परिषद्का पदाधिकारीले नै स्वीकार्ने गरेका छन्। समाजकल्याण परिषद्का अनुसार गैरसरकारी संस्थाहरूले वार्षिक रूपमा अर्बौँ रुपैयाँको कारोबार गर्ने गरेका छन्।

आर्थिक वर्ष २०७४\७५ मा मात्रै विभिन्न एनजीओले परियोजना र कार्यक्रमका नाममा २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको परिषद्ले जनाएको छ। अनुगमन गर्ने प्रमुख जिम्मेवारीमा रहेको परिषद् थला परेको छ। पदाधिकारीहरू एकपछि अर्को गर्दै भ्रष्टाचार काण्डमा मुछिन थालेपछि अहिले यसको अस्तित्व नै संकटमा परेको छ।

प्रतिक्रिया दिनुहोस्