दाजु–भाई मिलेर बाबुको हत्या



विराटनगर : विराटनगरमा दाजु–भाई मिलेर बाबुको हत्या गरेको खुलेको छ । महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्यामा उनकै दुई छोरा मिलेर गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानले मिलेर बाबुको हत्या गरेका हुन् ।

शनिबार राति ८ः३० बजेतिर हत्या गरेपछि दुवै जनाले घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडेको पत्ता लागेको डीएसपी राईले जानकारी दिए । उनकाअनुसार घटना भएको चार दिनपछि घरभित्रै पुरेको अवस्थामा बुधबार साँझ सत्यरामको शव फेला परेको छ ।

सत्यराम तीन छोरामध्ये जेठो रोहितसँग आफ्नै घरमा बस्दै आएका थिए । माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे छन् तीन वर्षदेखि वेपत्ता रहेका कान्छो छोरो सोमकुमार परिवारको सम्पर्कमा छैनन् ।

घरसायसी विवाद हुँदा रक्सीको नसामा रहेका दुवै छोरा मिलेर बाबुको हत्या गरेको खुलेको हो । दाजुभाईले पालैपालो फरुवाले प्रहार गरेगरेपछि घटनास्थलमै बाबुको मृत्यु भएको र त्यसपछि बाबु सुत्ने खाटको साइटमा खाल्डो खनेर शव गाडेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले गाडेको स्थानबाट शव निकालेर पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको छ । सत्यरामको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव फेला परेको डीएसपी राईले जानकारी दिए ।

बाबुको हत्यामा संलग्न दाजु–भाईविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन गम्भीर रुपमा घटनाको अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्