राष्ट्रपति सीले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादनपछि सर्वसुलभ बनाउने



काठमाडौं: राष्ट्रपति सी चीनफिङले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास तथा उत्पादन गरेपछि विश्व समुदायका लागि सर्वसुलभ बनाइने बताएका छन् ।

सोमबार विश्व स्वास्थ्य संगठनको महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससको आग्रहमा ‘भिडियो च्याट’मार्फत विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको लडाईमा ‘बृहत अन्तर्राष्ट्रिय साझेदारी’ को आवश्यकतामाथि जोड दिए ।

‘चीनमा कोभिड-१९ को भ्याक्सिनको विकास एवं परिचालन हुन थालेपछि यस औषधीलाई विश्वका नागरिकको हितमा उपलब्ध गराइने छ,’ राष्ट्रपति सीले भने,‘विशेष गरी विकासशील राष्ट्रहरूको भ्याक्सिनमाथिको पहुँच र खरिद क्षमता सुनिश्चित गर्न चीनले यस्तो योगदान गर्नेछ ।’

कोरोना भाइरसविरुद्धको जीवनरक्षालाई विभिन्न मुलुकहरूले भ्याक्सिनको विकासलाई आफ्नो राष्ट्रिय हितभन्दा माथि राखेर काम गरिरहेको परिपेक्ष्यमा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।

तर त्योभन्दा बढी यस घोषणालाई युरोपेली युनियनको घातक भाइरसविरुद्धको भ्याक्सिन, औषधी, रोग पहिचान तथा उपचारका लागि आवश्यक विभिन्न प्रविधिमाथि ‘सबै राष्ट्रको विना अवरोधको पहुँच हुनुपर्ने’ आग्रहसहित चिन्ता एवं संशयको मनोदशा निराकरणमा आएको शक्तिशाली सकारात्मक प्रतिक्रियामा लिइएको छ ।

औषधीको मूल्य न्यून हुनुपर्ने भनेर पैरबी गरिरहेको संस्था एमएसएफका वरिष्ठ नीति तथा कानुनी सल्लाहकार हु युयान कियोङले राष्ट्रपति सीको घोषणा ‘अत्यन्तै महत्वपूर्ण’ भएको प्रतिक्रिया दिएका थिए । अनुसन्धान तथा विकासका साथै उत्पादनको मुख्यालयको रूपमा स्थापित चीन यो साझा अन्तर्राष्ट्रिय दृष्टिकोणलाई परिपूर्ति गर्न पूर्ण तयार रहनुपर्ने उनले सुझाए ।

यसै साताको सुरुमा बेइजिङ म्युनिसिपल साइन्स एन्ड टेक्नोलोजी कमिसन प्रमुख सु जियाङले बेइजिङमा तीन छुट्टाछुट्टै प्रकारका कोभिड-१९ को भ्याक्सिन परीक्षणको दोस्रो चरणमा रहेको जानकारी दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले उक्त भ्याक्सिनको मानवमाथिको परीक्षणका लागि ५ जना व्यक्ति स्वयंसेवी बन्न तयार रहेको जनाएको छ । सम्बोधनको क्रममा सीले आगामी दुई वर्षभित्र कोरोना भाइरस प्रभावित विशेष गरी विकासशील राष्ट्रहरूलाई कोभिड-१९ विरुद्धको प्रतिकार्यका साथै आर्थिक तथा सामाजिक विकासमा २ अर्ब अमेरिकी डलर बराबरको सहायता गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्