कतारमा पहिलो पटक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइयो



काठमाडौं : कतारमा पहिलो पटक नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै गोली हानी मृत्युदण्ड दिइएको हो ।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मोहत्तरी औराही–१ अनिल चौधरीलाई मृत्युदण्डको कार्यान्वयन गरेको हो ।

उनलाई पीडित परिवारले माफी दिनको लागि अस्वीकार गरेको थियो ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ ।

नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेका चौधरीलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । तर, हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्ध आएको आदेश सबैभन्दा कडा हो ।

यद्यपी हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।

सन् २०१५ अगष्ट २७ गते कतार गएका चौधरी कार धुने कम्पनीमा सामान्य मजदुर गर्थे ।
कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।

उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । अदालतमा बयानका क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको हो ।

कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्