विद्युतीय रेलमार्गको सर्भे पुन: थालियो



काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्व–पश्चिम विद्युतीय रेल मार्गको बाँकी रहेको सर्भेको काम अघि बढाएको छ । बाराको निजगढदेखि नवलपरासीको चमसरियासम्मको १ सय ३५ किमि रेल्वे लाइनको सर्भे अघि बढाएको रेल्वे विभागका प्रमुख बलराम मिश्रले जनाए । 

‘बीचमा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले काम रोकिएको थियो,’ उनले भने, ‘अब निकुञ्जबाट नभएर मानव बस्ती भएको स्थानबाट सर्भे गर्दै छौं, काम अघि बढिसक्यो ।’ उनका अनुसार जम्मा ९ सय ४५ किमिमध्ये ८ सय १० किमि लाइन सर्भे गरिसकिएको छ ।

यसअघि पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणका लागि प्रस्ताव गरिएको थियो । निकुञ्जले बीच भागबाट रेल कुदाउँदा दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा चुनौती थपिने भन्दै अनुमति नदिने अडान लिएको थियो । त्यसपछि रेल्वे विभागले निजगढदेखि चमसरियासम्मको क्षेत्रलाई प्रस्ताव गरेको थियो ।

‘जंगलमा रेल्वे लाइन आवश्यक पनि थिएन,’ उनले भने, ‘त्यसकारण यो राम्रो काम पनि भयो ।’ रेल लाइन निर्माण गर्दा ठूल्ठूला मेसिन प्रयोग गरिने र त्यसले गर्दा वन्यजन्तु र वातावरणमा असर भन्दै आरक्षले विरोध जनाएको थियो । त्यसपछि विभागले रेल लाइन परिवर्तन गरेको थियो ।

८ सय १० किमिको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) काम पनि अघि बढिरहेको भन्दै उनले तीव्रताका साथ काम हुने बताए । ‘अब निजगढबाट नवलपरासीसम्म राजमार्गको पूर्व–पश्चिम भएर रेल चल्छ,’ उनले भने । बर्दिबास–सिमरा खण्डमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको विभागले जनायो ।

पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम अघि बढाइनेछ । विभागले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई नौ खण्डमा विभाजन गरेको छ ।

बुटवलदेखि गड्डाचौकीसम्म चार वटा खण्डमा अहिले डीपीआर तयार गर्ने काम धमाधम भइरहेको छ । ४ सय २१ किलोमिटरको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डहरूमा विभिन्न कम्पनी संलग्न रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । आजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्