नेपाली सैनिकको शव लिन ट्युनिसिया उड्यो श्री एयरलायन्स विमान



काठमाडौं : २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनको शव लिन श्री एयरलायन्सको सीआरजे विमान बिहीबार ट्युनिसिया उडेको छ ।

अफ्रिकी मुलुक लिबियामा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा खटिएका नेपाली सेनाको मे १ तारिख अर्थात वैशाख १९ गते हृदयघाटका कारण मृत्यु भएको थियो ।

ती सैनिकको शव लिन एयरलायन्सको सीआरजे विमान बिहीबार बिहान ७ बजे ट्युनिसिया उडेको हो ।

झापा मूल घर भएका सैनिकको शव बोकेर उक्त विमान शुक्रबार ट्युनिसियाबाट कायरोबाट दुबई हुँदै काठमाडौं फर्किने उडान तालिका रहेको छ ।

आन्तरिक उडानमा रहेको तथा हालै एसियाका केही मुलुकमा कार्गो चार्टरको अनुमति लिएको श्रीलाई नागरिक उड्डयन प्राधिकरणले विशेष परिस्थिति भएकाले कार्गो उडानको अनुमति दिई अफ्रिका पठाएको हो ।

श्रीको बमबार्डियर विमान काठमाडौंबाट सोझै ट्युनिसिया उड्न नसक्ने भएकाले काठमाडौंबाट मस्कट, मस्कटबाट इजिप्टको कायरो र ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

प्रवक्ता पाण्डेले शुक्रबार नै शव काठमाडौंबाट नेपाली सेनाको विमानमा भद्रपुर पठाइने बताएका छन् । उनले पछिल्ला महिना अफ्रिकी मुलुकमा शान्ति सेनामा खटिएका तीन सैनिकको हृदयघातका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्