देशभर हालसम्म १ लाख १७ हजार ४ सय ३१ जनामा कोरोना परिक्षण



काठमाडौं : देशभर अहिलेसम्म १ लाख १७ हजार ४ सय ३१ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ३८ हजार ७ सय ३६ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ७८ हजार ६ सय ९५ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएका छन्। ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटिबाट गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको हो।

नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ। संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन्।

नेपालमा डिस्जार्च हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ। मुलुकभर हाल २५ हजार ३० जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस्