परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्–भारतसँग वार्ता गर्न हामी तयार छौं



काठमाडौं : सरकारले नेपाली भूमि अतिक्रमण र सीमावर्ती मुद्दाबारे भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तयार भएर बसेको बताएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका हुन् ।

बुधबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाएको थियो ।

‘हामी वार्ता र संवादको उपायबाट अहिले उब्जिएका समस्या निरुपणमा तत्पर छौं, हामीसँग रहेका सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा प्रकाशित गरिएको हो ।’ मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग भने–‘भारतसँग द्विपक्षीय संवाद गर्नका लागि प्रत्यक्ष–परोक्ष आग्रह गरिरहेका छौं ।’ मन्त्री ज्ञवालीले भने ।

‘वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो । सीमा विवादको पछिल्लो चरणमा भारतले अहिलेको कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको हो, तर हामी तत्कालै पनि वार्ताको पक्षमा छौं, हामी तयार भएर बसेका छौं ।’ उनले भने–‘यो समस्या सुल्झाउनमा संवादभन्दा पर्तिर अर्को उपाय छैन भन्ने मलाई लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्