रियल टाईम पिसिआर प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय



जनकपुरधामः प्रदेश २ कोरोना भाईरस संक्रमण नियन्त्रण रोकथाम तथा उपचारका लागि गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सम्वद्ध विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमणको तीब्र बढोत्तरी भएको अवस्थामा विभिन्न स्वास्थ्य संस्थाहरुको स्तरोन्नती तथा कोभिड १९ लेभल १ अस्पताल निर्माणलाई बैठकले विशेष जोड दिएको हो । जस अनुरुप सिराहा अस्पताल सिराहामा ५० बेड तथा उक्त अस्पताल मातहत रहनेगरी महेन्द्र गेनाई अस्पताल सिराहामा नै ३० बेडको आईसोलेसन कक्ष निर्माण गरिने निर्णय भएको छ ।

त्यसैगरी रौतहट जिल्लाको गौर अस्पताल मातहत रहनेगरी गौर नर्सिङ कलेजमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पताल सप्तरीमा ५० बेड, मलंगवा अस्पताल सर्लाही मातहत सञ्चालन हुनेगरी सर्लाही जिल्ला स्थित रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी मातहत रहनेगरी सप्तरीको प्रस्तावित साईकृष्ण मेडिकल कलेज राजबिराजमा ५० बेड र महोत्तरी जिल्लाको बर्दिबास अस्पताल बर्दिबासमा २५ बेड क्षमताका आइसोलेसन कक्ष सहित कोभिड १९ लेभल १ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समिति प्रदेश २ को बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिने कन्ट्याक्ट ट्रेसिङसम्वन्धी मार्गदर्शनमा कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी स्थानीयस्तरमै गर्ने व्यवस्था भएकाले प्रदेशका आठवटै जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङ र केस ईन्भिेष्टिकेसन सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।

बैठकले कोरोना संक्रमण दर उच्च रहेसँगै यस प्रदेशमा स्वाव परिक्षणलाई थप बिस्तार गर्ने लक्ष्य सहित जनकपुरमा तेश्रो पटक रियल टाईम पि.सि.आर.मेसिन जडान गरी सञ्चालनमा ल्याइने भएको छ । जसका लागि संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहमति लिई तथा मर्मत सुधार गरी आवश्यक पुर्वाधार निर्माण गरेर सामाजिक विकास मन्त्रालयले जनकपुरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाईम पि.सि.आर.प्रयोगशाला स्थापना गरी सञ्चालन गर्ने निर्णय गरिएको सचिव घिमिरेले जानकारी दिए । त्यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा समेत रिपयल टाईम पि.सि.आर.प्रयोगशाला यथाशिघ्र सञ्चालनमा ल्याइने बताइएको छ ।

यस प्रदेश भित्र सञ्चालन हुने सबै रियल टाईम पि.सि.आर.ल्याव स्थापना र सञ्चालनका लागि आवश्यक सुझाव,प्राविधिक सहयोग र समन्वय तथा सहजिकरण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौका पूर्व निर्देशक डा.राजकुमार महतोलाई विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।

प्रदेश नम्बर २ भित्र सञ्चालनमा रहेका अधिकांश क्वारेन्टाईन र आइसोलेसन कक्षहरुमा खानपानको व्यवस्थापनमा विभिन्न समस्याहरु उत्पन्न भएको तथ्यलाई मध्यनजर गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिले कोभिड १९ संक्रमित विरामी र क्वारेन्टाइनमा रहेका ब्यक्ति र स्वास्थ्यकर्मीहरुका लागि गुणस्तरीय पानी, खाजा एवं खाना उपलब्ध गराउन मापदण्ड बनाई कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ । सोही अनुरुप नारायणी अस्पताल बीरगंजमा कोभिड १९ संक्रमित विरामीहरुको संख्या तीब्ररुपमा बढिरहेको सन्दर्भमा संक्रमित विरामी र स्वास्थ्यकर्मीहरुका लाागि गुणस्तरीय पानी, खाजा एवं खाना उपलब्ध गराउनका लागि प्रदेश सरकारले पर्सा जिल्ला स्थित नारायणी अस्पताल बीरगंजलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार कार्यलाई प्रभावकारी बनाउन यस प्रदेशका आठ वटा जिल्लाहरुलाई तीन वटा क्लस्टरमा विभाजन गरी कोरोना नियन्त्रण र उपचार सम्वद्ध कार्य भइरहेको र सोही अनुसार तीनवटै क्लष्टरमा एक-एकवटा प्रदेशस्तरीय क्वारेन्टाइन स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा समितिबाट नीतिगत निर्णय भएअनुरुप सप्तरी जिल्लाको राजविराज र बारा जिल्लाको सिमरामा प्रदेशस्तरीय क्वारेन्टाइन स्थापना गर्न नेपाली सेनाको मध्य पुर्वी पृतना हेडक्वार्टरबाट लागत अनुमान समेत पेश भइसकेकोमा हाल पर्सा जिल्लामा कोभिड १९ संक्रमीत व्यक्तिहरुको संख्यामा तीब्र बृद्धि भइरहेकोले उक्त जिल्लामा समेत गरी तीन स्थानमा सामाजिक विकास मन्त्रालयको समन्वयमा एक हजार बेड क्षमताको थप ३ वटा क्वारेन्टाइन स्थापना एवं सञ्चालनमा गरिने निर्णय समेत गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्