हिजाेआज गाउँमा पनि भेटिँदैनन् ढुङ्गेधारा



म्याग्दी : ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनपद्धतिसँग जोडिएका पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएका छन् । बढ्दो सहरीकरण र संरक्षणको अभावमा  सांस्कृतिक र ऐतिहासिक महत्वका पँधेरा र ढुंगेधारा दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् ।

बढ्दो जनसंख्या र अव्यवस्थित बस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुंगेधाराहरू भत्काइनुका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा पँधेरा र ढुङ्गेधारा लोप हुँदै गएको बेनी नगरपालिका २ विमिराबोटका नारायण शर्माले बताए ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुंगेधाराको उपयोगमा पनि कमी आएको स्थानीयले बताएका छन् । अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय पँधेरा र ढुंगेधारा पुरिएका बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुङ्गेधारा लोप भइसकेका छन् । भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनुपर्ने म्याग्दीको इतिहास र संस्कतिका अध्येता कृष्णबहादुर बानियाँले बताए ।

ढुङ्गेधारा र पँधेरा लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि हराउँदै गएको स्थानीय बूढापाकाले बताएका छन् । ‘उकाली ओराली गर्दा आँत हरर्र हुन्थ्यो’, बेनपा २ का ८६ वर्षीय भीमप्रसाद शर्मा (सापकोटा) ले भने, ‘त्यति बेला अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द अब कहाँ खोजेर भेटिएला र ?’

अब गाउँ ‘गाउँ’ जस्तै नरहेको र मौलिकता हराउँदा जाँदा कुरुप बनेको स्थानीय बूढापाकाहरुको भनाइ छ । ‘न गाउँ ‘गाउँ’ जस्तो रह्यो न त सहरको सुविधा नै गाउँले पाउन सक्यो’, धौलागिरि गाउँपालिकाको ताकमका ७६ वर्षीय बुद्धिप्रसाद सुवेदीले भने, ‘सम्पदा नासिए, संस्कृति मासियो, गाउँ अधकल्चोजस्तो भयो ।’

 

साहित्यकार सुवेदीले पानीपँधेरो र ढुङ्गेधारासँग गाउँको संस्कृति, सभ्यताको अनन्त साइनो रहेको बताउँदै थपे, ‘गाउँको सभ्यताको सुरुवात नै यस्तै सम्पदाबाट भएको हो ।’ दुई दशकअघिसम्म ग्रामीण महिलाका लागि पानीपँधेरो नै दुःखसुःख साट्ने र पीर व्यथा बाँड्ने एकमात्र माध्यम हुने गरेको बताउँदै सुवेदीले पँधेरा र ढुङ्गेधाराहरु पानीका स्रोत मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोत पनि भएको स्पष्ट पारे ।

अहिले गाउँमा पँधेरा र ढुङ्गेधारा मात्र होइन ढिकी, जाँतो,पानीघट्ट, ओखल र कोलहरु पनि लोप भइसकेका छन् । आयातित संस्कृतिले गाउँलाई कुरुप बनाउँदै छोडेपछि गाउँबासीमा अपनत्व र भ्रातृत्वमा पनि कमी देखिँदै गएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।

 

सामूहिकतामा विश्वास गर्ने गाउँलेको विश्वास भाँचिँदै गएपछि एकांकीपन बढेर गएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँले पनि व्यापारीजस्ता बन्दै जान थालेको स्थानीय बयोवृद्ध बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको सांस्कृतिक मौलिकता र सम्पदामा अतिक्रमण हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्