कडा शीघ्र कुपोषित छन् प्रदेश २ का बच्चा



हेटौंडा : शिक्षा र चेतनाको कमीका कारण नेपालमा कुपोषणको समस्या देखिएको छ । स्वास्थ्य सर्वे २०१६ का अनुसार देशमा ३६ प्रतिशत दीर्घ कुपोषण, १० प्रतिशत शीघ्र कुपोषण र सुक्ष्मपोषक तत्वको कमीले देखिने रक्तअल्पताको समस्या पचास प्रतिशतभन्दा बढीमा देखिएको छ ।

राष्ट्रिय योजना आयोग एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा हेटौंडामा आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा वक्ताहरूले नेपालमा बालपोषणको अवस्था सन्तोषप्रद नरहेको बताएका छन् । उनीहरूले मध्यपश्चिम पहाडी क्षेत्रमा दीर्घ कुपोषण, प्रदेश २ मा कडा शीघ्र कुपोषण र सहरको तुलनामा गाउँमा बढी कुपोषण रहेको औंल्याउँदै सरसफाइ तथा खानामा ध्यान दिए कुपोषण हटाउन सकिने स्पष्ट पारे ।

प्रदूषित वातावरणमा बस्दा र पोषणयुक्त खाना अभाव हुँदा शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर बालबालिकामा कुपोषण समस्या देखिने धारणा कार्यक्रममा स्वास्थ्यविज्ञहरूले राखे । खाद्य पदार्थको कमी र उपलब्ध खाद्य पदार्थको उपयुक्त प्रयोग गर्ने विधिबारे जानकारी नहुँदा बच्चामा कुपोषण हुने विज्ञहरूको भनाइ छ ।

गर्भवती महिलालाई राम्रो स्याहारसुसार र पोषिलो खाना प्राप्त नहुँदा कम तौलको बच्चा जन्मिने र त्यस्ता बचचामा कुपोषित हुने बढी खतरा रहने विज्ञहरूले बताए ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुपोषणको समस्या हटाउन शिक्षामा जोड दिइनुपर्ने बताए । उनले परिवारका सबै सदस्य र खासगरी आमा शिक्षित हँदा शिशुमा कुपोषण समस्या नहुने प्रस्ट्याए । ‘हामीले कुपोषण हटाउन र सही पोषण दिने दिशामा काम गर्नुपर्नेछ,’ मुख्यमन्त्री पौडेलले भने, ‘यसका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

 

सामाजिक विकास मन्त्री युवराज दुलालले पोषणबारे ज्ञान भएको शिक्षित समाज निर्माणमा जोड दिँदै बालबच्चालाई पोषणयुक्त खाना खुवाउन समाजलाई उत्प्रेरित गर्नुपर्ने बताए । 

 

प्रतिक्रिया दिनुहोस्