कहिले खुल्ला यी बलिउड कलाकारको मृत्यु रहस्य ?



एजेन्सी : बलिउडका यस्ता धेरै कलाकार छन् जसको मृत्युको रहस्य वर्षौं हुँदा पनि खुल्न सकेको छैन । यस्ता कलाकारमा दिव्या भारती, महेश आनन्द, जिया खान, प्रत्युशा बनर्जी, परवीन बबी, गुरु दत्त, नलिनी जयवन्त, अचला सचदेव, मनमोहन देसाई, सिल्क स्मिथा, नागा झाँसीलगायत छन् । 

दिव्या भारती : २५ वर्षअघि सन् १९९३ अप्रिल ५ मा नायिका दिव्या भारती आफ्नो घरको पाँचौं तल्लाबाट खसेको भन्ने खबर प्रकाशित भएको थियो । अहिलेसम्म उनको मृत्यु कसरी भयो भन्ने रहस्य खुल्न सकेको छैन । दिव्या भारतीलाई कुपर अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो भन्ने समाचार त्यति बेला सञ्चार माध्यममा आएको थियो । त्यसबाहेक थप रहस्य भने अहिलेसम्म खुल्न सकेको छैन । 

महेश आनन्द : बलिउड फिल्ममा भिलेनको भूमिका निभाउने अभिनेता महेश आनन्दको शव माघ २६ गते उनकै घरमा भेटिएको थियो जुन सडेगलेको अवस्थामा थियो । घरमा पुलिस पुग्दा टिभी खोलिएको अवस्थामा थियो र खानाको प्लेट साइडमा राखिएको थियो । उनको केही दिनअघि नै मृत्यु भइसकेको थियो । उनले अमिताभ बच्चनसँग अकेला, इन्द्रजित, शहंशाह, गंगा जमुना सरस्वतीलगायतको सात फिल्ममा अभिनय गरेका थिए । करिब १८ वर्षपछि फेरि उनी फिल्ममा फिर्ता भएका थिए । उनी गोविन्दा र पहलाज निहलानीको गत महिना रिलिज भएको फिल्म ‘रंगिला राजा’ मा सानो भूमिकामा देखिएका थिए ।

परबीन बाबी : सन् २००५ मा मृत्युपछि परवीन बाबीबारे जान्ने मानिहरुको जिज्ञासा पनि कम भएको छैन । उनी आफ्नो बिन्दास इमेज र ग्ल्यामरका लागि चर्चित थिइन् । उनको धेरैसँग सम्बन्ध जोडियो र तोडियो पनि । त्यसपछि स्किजोफ्रिनियाले उनको जीवनलाई यस्तो अँध्यारोमा धकेल्यो कि जहाँबाट एक दिन उनको मृत्युको खबर आयो । जब थुप्रै दिनसम्म घरबाहिरबाट पत्रिका र दुधको प्याकेट कसैले पनि भित्र लगेनन् तब पुलिसले ढोका फोडेर उनको शव निकाल्यो ।

गुरु दत्त : आफ्नो अभिनय र निर्देशन दुवैका लागि गुरु दत्तको निकै चर्चा थियो । तर निजी जीवनमा श्रीमती गीता दत्तसँग उनको सम्बन्ध लगभग ताडिइसकेको थियो जसका कारण उनीहरुबीच धेरैजसो झगडा भइरहन्थ्यो । उनी आफ्ना सन्तान र श्रीमतीसँग नभई एक्लै बस्थे । सन् १९६४ को अक्टोबर ९ मा यस्तै एक झगडापछि उनका साथी अबरार अलवी भेट्न जाँदा गुरु दत्त रक्सी पिइरहेका थिए । यी दुईले अबेर राति खाना खाए र अबरार आफ्नो घर गए । अर्को दिन अबरार अल्वी पुग्दा उनले गुरु दत्तको मेचमा एउटा गिलास राखिएको देखे जसमा गुलाबी रङको तरल पदार्थ बाँकी थियो । उता गुरु दत्तको भने मृत्यु भइसकेको थियो । त्यो आत्महत्या थियो वा ओभरडोज, यो बहस अहिले पनि जारी छ ।

मनमोहन देसाई : अमिताभ बच्चनलाई अमर अकबर एन्थनी, कुली, मर्द, नसिब जस्ता फिल्म दिएर सुपरस्टार बनाउने निर्देशक मनमोहन देसाईको मृत्युको रहस्य पनि कहिले खुल्न सकेको छैन । सन् १९९४ मा जब उनको मृत्यु भयो तब उनी डाढ दुख्ने समस्याबाट ग्रसित थिए । त्यस बेला बलिउडका बादशाह भनिने मनमोहन देसाईको फिल्म चल्न बन्द भइसकेको थियो । यस्तोमा बालकोनीबाट खसेर भएको उनको मृत्यु सधैं प्रश्नको घेरामा रह्यो ।

भगवान दादा : आफ्नो जमानामा चर्चित डान्सिङ र एक्सन स्टार रहेका भगवान दादा पनि अन्तिम अवस्थामा फिल्म उद्योगबाट टाढा थिए, एक्लो थिए । अमिताभ बच्चनदेखि गोविन्दासम्ममा उनको डान्सको छाप देख्न पाइन्छ । ४० र ५० को दशकमा भगवान दादासँग बंगला, थुप्रै गाडी, अत्यधिक पैसा थियो । उनी सबैभन्दा धनी नायकमध्येका एक थिए । सन् १९५१ मा राज कपुरको आवारा र भगवान दादाको अलबेला एकै दिन रिलिज भयो र दुवै सुपरहिट भएका थिए । सन् २००२ मा उनको मृत्युका बेला उनलाई फिल्मी दुनियाँले बिर्सिसकेको थियो । नयाँ पिँढीले उनलाई चिन्न समस्या भइरहेको छ भने सलमान खान र भाग्यश्रीको गीत ‘हाँ मेने प्यार किया प्यार किया’ रिवाइन्ड गरेर हेर्ने हो भने सलमानको पछाडि रातो पगडीमा नाच्ने व्यक्ति भगवान दादा नै हुन् ।

नलिनी जयवन्त : नलिनी जयवन्तको कहानी पनि यस्तै छ । देव आनन्ददेखि दिलिप कुमारसम्म उनका हिरो हुने गर्थे । उनीहरु उनको कामको प्रशंसक थिए । नलिनी काजोल र नूतनको खानदानसँग सम्बन्ध राख्थिन् । ८४ वर्षको उमेरमा उनी नितान्त एक्ली भएकी थिइन् । उनको मृत्यु पनि एक रहस्य नै थियो ।

प्रत्युशा बनर्जी : हालैका वर्षका कुरा गर्ने हो भने टिभीमा एक अभिनेत्री निकै छाइन्, नाम थियो प्रत्युशा बनर्जी र टिभी सिरियल थियो बालिका बधू । उनले २४ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् ।

जिया खान : नायिका जिया खानको कहानी पनि यस्तै थियो । २५ वर्षको उमेरमा जिया खान मृत पाइन् । ‘निशब्द’ जस्तो आफ्नो पहिलो फिल्ममा नै अमिताभ बच्चनसँग काम गर्ने जिया लन्डनबाट भारत फर्किइन् । उनले लन्डनमा अंग्रेजी साहित्य, सेक्सपियर र अभिनयबारे पढाइ गरिन् । उनी ओपेरा गायक थिइन् र पियानो पनि बजाउँथिन् । साल्सा, ज्याज, कत्थक, ब्याले, रेगी र बेडी डान्सका शैली जान्दथिन् । यस्ती युवतीको २५ वर्षको उमेरमा जीवन अन्त्य भयो ।

सिल्क स्मिथा :  सिल्क स्मिथाले पनि सन् १९९६ मा आत्महत्या गरेकी थिइन् । जसलाई संसारभरि सेक्स साइरनको नामले बोलाइन्थ्यो । उनी वास्तविक जीवनमा एक्लोपन, पैसाको कमी र फिल्मको विफलतासँग जुधिरहेकी थिइन् ।

नागा झाँसी : २१ वर्षीया तेलुगु टिभी नायिका नागा झाँसीले माघ २२ मा आफ्नो घरको पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनी हैदराबादको श्रीनगर कोलोनीमा बस्थिन् । उनले प्रेममा धोका पाएका कारण यस्तो कदम उठाएको बताइन्छ । टाइम्स अफ इन्डियामा छापिएको रिपोर्टअनुसार यो मामलामा अनुसन्धान गरिरहेका सब इन्सपेक्टर चन्द्रशेखरले भने, ‘आत्महत्या गर्ने दिन झाँसीले सूर्या तेजा (आफ्ना ब्वायफ्रेन्ड) लाई फोन गरेकी थिइन् र उनले कुराकानी गरेकी थिइन् तर सूर्याले उनीसँग राम्रोसँग कुरा गरेनन् र आफू निकै व्यस्त हुने भएकाले दुई दिनसम्म फोन नगर्न भन्दै फोन राखे । त्यसपछि झाँसीले सूर्यालाई फोन गरिन् तर उनले उठाएनन् ।’ त्यसपछि उनले आत्महत्या गरेको बताइएको छ । झाँसीकी आमाले झाँसीले सूर्यालाई एक लाख तीस हजार भारुको बाइक उपहार दिएको बताइन् । साथै उनले झाँसीले टिभी सिरियलमा काम गरेको सूर्यालाई मन नपरेको पनि बताइन् । नागाको परिवारको बयानको आधारमा पुलिसले सूर्याविरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्