राजपुर बमकाण्डका अभियुक्त आफताब आलमको घरमा प्रहरीको छापा



रौतहट : राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले मध्यराति छापा मारेको छ ।

बिहीबार राति मध्याह्न करिब १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा प्रहरी पुगेका थिए । प्रहरीले सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न आफताब आलमको घरमा छापामा मारेको हो । महताव अफताब आलमका भाइ हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्का अनुसार बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घर पुगेको हो ।

‘हामीलाई गोप्य सूचना प्राप्त भएको थियो कि महताब आलम घरमा रहेको भन्ने’ प्रमुख उपरीक्षक खड्काले भने–‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा पुगेको थियो ।’

यता खानतलासीका क्रममा परिवारजन र स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण हुन खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको बताउँदै प्रहरी उपरीक्षक खड्काले महताब आलम फेला नपरेको बताए ।

उनले बमकाण्डमा फरार रहेका सबैको खोजी कार्य जारी रहेको समेत बताए ।

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्